- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
विगत ६ सातादेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो ध्यान आकृष्ट भएको जनाएका छन् ।
मंगलबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकारको गौरवको विषय रहेको यो विमानस्थलबाट अहिले अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएको विषय आफूलाई जानकारी भएको र यो बिषयमा केन्द्रीय तहमा पनि अवगत गराएको जनाएका छन् ।
‘‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाका विषयमा प्रधानमन्त्री लगायत माननीयहरु सबैलाई जानकारी गराएको छु । आशा छ छिट्टै अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु हुनेछ ।’’ मुख्यमन्त्री गिरीले भने ।
यो विमानस्थल प्रदेशकै गहना हो, यहाँबाट निर्वाध रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय उडान सुचारु हुनेछन् । अन्तर्राष्ट्रियसंगै राष्ट्रियमा अहिले भैरहवा–काठमाडौं, भैरहवा–पोखरा उडान भइरहेकोमा पूर्वमा बिराटनगर र पश्चिममा नेपालगञ्ज, धनगढीसम्म सेवा बिस्तार गर्नु पर्नेमा जोड दिए । नीजि विमान सेवा कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरे पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमा कुनै चासो नदिनु दुखद पक्ष रहेकोले तत्काल यो विषयमा ध्यानकर्षण गर्न पर्यटन व्यवसायीले मुख्यमन्त्री गिरीसंग आग्रह गरेका छन् । सो क्रममा मुख्यमन्त्री गिरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ई. प्रबेश अधिकारीसंग बिभिन्न जानकारी लिएका थिए ।
कम प्रकाशमा पनि उडान तथा अवतरण गर्न मिल्ने प्रविधि आईएलएस (इन्सटुमेन्टल लेन्डिङ्ग सिस्टम) जडान भएर पनि सञ्चालन हुन नसक्दा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विगत ६ सातादेखि हुन सकेको छैन् ।
आईएलएस सञ्चालन गर्दा त्यस्को तरंग (वेभ)ले भारतीय भूभाग समेत छुने भएकोले भारतको अनुमति नहुँदा आईएलएस सञ्चालनमा आउन नसकेको हो । सरकारी स्तरबाट लामो समय हुँदा पनि आईएलएस सञ्चालनका लागि आवश्यक सहमति भारतसंग जुटाउन नसक्दा समस्या बढ्दै गएको हो ।
भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एअरवेजले नियमित उडान र हिमालयन एअरलाइन्सले चार्टर उडान भर्दै आएको थियो । जजिराले गत जेष्ठ २ गतेबाट कुबेतमा नियिमत उडान गर्दै आएकोमा पौष ३ गतेदेखि उडान स्थगित गरेको छ ।
फरक प्रसंगमा मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकार बिस्तार हुनुमा राजनीतिक कारण भन्दा पनि नेकपा माओबादी लुम्बिनी प्रदेश संसदीय दलका नेताको आमाको मृत्युले उहाँ कृयामा रहेकाले क्रिया सकिने बित्तिकै सरकार बिस्तार कार्य अघि बढ्ने बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.