- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
बुटवलमा निर्माण भएको पशु वधशाला सञ्चालनमा आउने भएको छ । वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि बीचमा पशु वधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुई पक्ष बीच भएको सहमति अनुसार पशु वधशाला छिटै सञ्चालनमा आउने छ । सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम वधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने बुटवल उपमहानगर पालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए ।
वधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने प्रमुख पाण्डेयले जनाए । ‘‘वधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म वधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार वधशाला सञ्चालन हुने छ ।’’ प्रमुख पाण्डेले भने ।
वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरेको छ ।
वधशाला सञ्चालनका लागि एक साता भित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । वधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको पन्थीले जनाए ।
वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.