- मनोरञ्जन शर्मा
भैरहवा ।
बिभिन्न धार्मिक पर्व, घर मन्दिरमा नित्य पूजा गर्दा दैनिक प्रयोग हुने र त्यो भन्दा पनि बढी होली पर्वमा प्रयोग हुने अबिर लगायत रंगको उत्पादन स्वदेशमा नहुँदा वार्षिक करोडांै रुपैयाँ विदेशीने गरेको छ ।
बिशेष गरी कुनै एक सिजनमा मात्र अत्यधिक बिक्री हुने भएका कारणले नेपालमा अबिर लगायत केसरी र अन्य बिभिन्न रंगका धुलोहरुको उत्पादन नहुने गरेको हो । त्यसैले धार्मिक तथा होलीपर्वका लागि मात्रै वार्षिक करोडांै रुपैयाँको अबिरहरु भारतबाट आयात हुने गरेको व्यवसायीहरु बताउँछन् ।
नेपालमा होलीमा प्रयोग हुने होलीका सामग्रीहरु यहाँ नबन्ने भएकाले सबै विदेशी सामग्रीमा भर पर्नु परेको हो । भैरहवा मैत्रीपथमा विगत दुई दशक देखि होलीका लागि अबिर लगायत बिभिन्न सामग्री बिक्री गर्दै आएका शम्भुनाथ केसरवानीका अनुसार सबै सामान भारतबाट आउने गरेको छ । अबिर लगायत बिभिन्न रंगहरु, पिचकारी, बेलुन सबै भारतबाट आयात हुँदै आएका छन् तर पछिल्लो केही वर्षदेखि होलीका लागि प्रयोग हुने पिचकारी, बेलुन, फोम लगायत बिभिन्न रंगहरु चिनबाट भारत हुँदै अहिले नेपाली बजारमा ल्याएर बिक्री हुने गरेको छ, व्यवसायी केशरवानीले भने ।
अहिले भारतीय पिचकारी बेलुनको तुलनामा चाइनिज सामान आकर्षक र टिकाउ हुने भएकाले उपभोक्ताहरु चाइनिज होलीका सामान समेत खोजीखोजी लाने गर्दछन् । बजारमा भारतीय तथा चाइनिज पिचकारीको मूल्य ५० रुपैयाँ देखि १ हजार रुपैयाँ माथिसम्मका छन् ।
उता सिमावर्ति भारतीय बजारमा नेपालमा भन्दा केही सस्तो पर्ने भएकाले उपभोक्ताहरु उतै दगुर्ने गरेको समेत पाइएको छ । भैरहवा र सिमावर्ति भारतीय बजार सुनौलीमा अबिर लगायत बिभिन्न रंगहरु प्रति केजिमा ५० रुपैयाँसम्म सस्तो पर्ने भएकाले उपभोक्ता भारतीय बजार तिर जाने गरेका हुन् ।
नेपालमा अबिर, केसरी, पिचकारी, बेलुनको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता नेपाली व्यापारीहरुमा रहेको छ । अबिर, केसरी लगायत अन्य रंगहरुको माग नेपालमा पर्व र होलीका समयमा मात्र हुने गरेको छ । नेपालमा यी सामग्रीहरु नपाइने हुँदा भारतबाट आयात गरी नेपालमा बिक्री हुने गरेको छ । प्रायः व्यवसायीहरुले दिल्लीबाट अबिर लगायतका सामग्री ल्याएर बिक्री बितरण गर्ने गरेका छन् ।
पिचकारी, अबिर, रंग लगायतका वस्तुहरु होली पूर्णिमाका साथै धार्मिक पर्वहरुमा मात्रै धेरै प्रयोग हुने भएकाले एक सिजनमा मात्र चल्ने व्यापारका लागि उद्योगीहरु अबिर लगायतका रंगहरु उत्पादन गर्ने उद्योग खोल्न इच्छुक नदेखिएको हुन सक्ने उद्योगी तथा सिद्धार्थनगर उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । ‘एक सिजनमा मात्र त्यो पनि दुई तिन दिन मात्र बढी खपत हुने सामान उत्पादन गर्ने उद्योग सञ्चालन गरी व्यवसायीले जोखिम वहन गर्न चाहदैनन्, त्यसैले पनि यो उद्योगमा आकर्षण नआएको हो,’ श्रेष्ठले भने । काठमाडांै उपत्यका लगायत पहाडी जिल्लामा यस वर्ष सोमबार र तराईका जिल्लाहरुमा मंगलबार होली पर्व मनाइँदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.