- मनोरञ्जन शर्मा
नाम्चे (सोलुखुम्बु), १४ जेठ ।
वातावरण संरक्षणका लागि ४ दशक अघि उपदेश दिएका औतारी लामा रिन्पोछे नावाङ्ग तेन्जिङ्ग लामाको नाममा वातावरण संरक्षण पुरस्कार स्थापना भएको छ । खुम्बु क्षेत्रमा एभरेष्ट म्याराथन लगायत विभिन्न पर्यटकीय गतिविधि गर्दै आएको संस्था हिमालय एक्सपिडिसन्सले आइतवार नाम्चे बजारमा सो पुरस्कार घोषणा गरेको हो ।
एक्सपिडिसन्सले राष्ट्रिय सभा सदस्य सोनम ग्याल्जेन शेर्पाको उपस्थितिमा पुरस्कार घोषणा गरेको हो । सो क्रममा औतारी लामा रिन्पोछेको तस्बिर पनि अनावरण राष्ट्रिय सभा सदस्य शेर्पाले गरेका थिए । पुरस्कारको राशी तिन लाख ७ हजार ७ सय सतहत्तर रहेको छ । प्रत्येक २ वर्षमा यो पुरस्कार प्रदान गरिने हिमालय एक्सपिडिसन्सका अध्यक्ष एवं सस्थापक बिक्रम पाँडेकाजीले बताए ।
‘‘सगरमाथा (खुम्बु) क्षेत्रको वातावरण संरक्षणमा उत्कृष्ट काम गर्ने कुनै पनि व्यक्ति,समूह, संघसस्था वा स्थानीय तह मध्येबाट एकजनालाई यो पुरस्कार प्रदान गर्नेछांै र यो पुरस्कार प्रत्येक २ वर्षमा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन दिन मई २९ को दिन समापन समारोहमा प्रदान गर्नेछांै ।’’ पाँडेकाजीले भने । यो वर्षको पुरस्कार जेष्ठ १५ गते नाम्चे बजारमा कार्यक्रम आयोजना गरी प्रदान गरिने छ, पाँडेकाजीले भने ।
रिन्पोछेको नाममा वातावरण संरक्षण पुरस्कार स्थापना हुनु गौरवको विषय भएको राष्ट्रिय सभा सदस्य सोनम ग्याल्जेन शेर्पाले बताए । पुरस्कार स्थापनाले यस क्षेत्रमा वातावरणमा काम गर्ने जो कोही व्यक्ति वा संघ सस्थालाई प्रेरणा भएको जनाए । हिमालय एक्सपिडिसन्सका अध्यक्ष एवं संस्थापक पाँडेकाजीले आफू ४ दशक अघि यस क्षेत्रमा पर्यटन गतिविधिका क्रममा आउँदा तेङ्गबोचे गुम्बाका औतारी लामासंग दर्शन भेट गरी आफू र आफूसंग पदयात्राका लागि आउने पर्यटकहरुलाई समेत यस क्षेत्रको धार्मिक, वातावरणीय महत्वका बारेमा रिन्पोछेबाट उपदेश लिने गरेको जनाए । सो क्रममा रिन्पोछे लामाले यस क्षेत्रको पदयात्रामा जादा वातावरण जोगाउन, जताततै फोहर नफाल्न, आगो नबाल्न, चराचुरुङ्गी जनवार, पशुपन्छी, बोटबिरुवालाई कुनै पनि क्षती हानी नपु¥याउन उपदेश दिने गरेको पाँडेकाजीले बताए ।
रिन्पोछेले खुम्बु क्षेत्रको वातावरण संरक्षणका लागि दिएको त्यतिबेलाको उपदेशको स्मरण गर्दै उहाँको नाममा वातावरण पुरस्कार स्थापना गरेको हिमालयका अध्यक्ष पाँडेकाजीले बताए । कुनै पनि रिन्पोछेको नाममा पुरस्कार स्थापना भएको संभवत यो पहिलो हो ।
Get real time update about this post categories directly on your device, subscribe now.