- श्री न्यूज ओके रिपोर्टर
भैरहवा ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रुपन्देही सदरमुकाम भैरहवामा कार्यालय भवन निर्माण सुरु गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित शिवपथमा शुक्रबार जनउत्थान सहकारी भवनको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी र सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले संयुक्त रुपमा शिलान्यास गरे ।
४३ धुर जग्गामा निर्माण हुने जनउत्थान बचत तथा ऋण सहकारीको भैरहवा स्थित पहुँच सेवा केन्द्रको सो भवन आगामी ३ महिनामा निर्माण सम्पन्न गरी सो स्थानबाट सेवा सुचारु हुने संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । संस्थाको भैरहवा पहुँच सेवा केन्द्र अहिले काशी सिनेप्लेक्स केजी टावर नयाँ सडकमा सञ्चालनमा छ ।
कार्यालय भवन शिलान्यास गर्दै प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले सहकारीको महत्व बढीरहेको बताउदै सहकारीको मूल्य मान्यता अनुसार अघि बढे सफल हुने बताउदै सहकारीको बारेमा राम्रोसँग बुझेर मात्रै बचत जम्मा र पुँजी लगानी गर्न आग्रह गरिन् ।’ सिद्धार्थनगर नगरपालिकामा दर्ता भएका सहकारीमा खासै समस्या नभए पनि बाहिरबाट आएर सञ्चालित सहकारीमा भने समस्या देखिएको उनको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएकाले स्थानीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउदै जनउत्थान सहकारी जस्तै अन्य सहकारीहरुले उदाहरणीय कार्य गर्नुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले स्थापनाकालदेखि जनउत्थान सहकारीले राम्रो काम गर्दै आएको बताए । सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले उत्कृष्ट व्यवस्थापन र शेयर सदस्यको निरन्तर निगरानीका कारण संस्था यहाँसम्म आइपुगेको बताए । उनले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार अगाडि बढ्ने बताए । सहकारीकी भैरहवा पहुँच सेवा केन्द्र संयोजक शान्ति अधिकारीले शेयर सदस्यहरुको सल्लाह सुझावअनुसार संस्था अघि बढ्ने बताइन् ।
३१ जना सदस्यहरुबाट सुरु भएको सहकारीमा हाल ४० हजार जना शेयर सदस्यहरु र संस्थाको पुँजी ३ अर्ब २९ करोड र जगेडा कोषमा २४ करोड रहेको सहकारीका मुख्य प्रबन्धक रन बहादुर थापाले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पाँच जना बेरिकेड हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा ३ वटा विद्यालयलाई विद्यालय विकास अक्षयकोष, ३ वटा आमा समूहलाई आमा समूह विकास अक्षयकोष, ३ वटा युवा क्लबलाई युवा विकास अक्षयकोष, नेपाल अभिनास अनाथ आश्रम तिलोत्तमा–१४ कोटिहवालाई अनाथ आश्रम अक्षयकोष हस्तान्तरण गरिएको थियो । त्यसै गरी ७ वटा महिला समूहलाई सरसफाई सामग्री (डस्टबीन) हस्तान्तरण गरिएको समूहले जनाएको छ ।
कार्यक्रममा ऋण बीमा हस्तान्तरणसमेत गरिएको थियो । सहकारी सचिव सरु रानाको सञ्चालनमा सम्पन्न भवन शिलान्यास कार्यक्रममा सहकारीकी अध्यक्ष ज्ञानु पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.