- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
गत वैशाख १ गते सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेको वडा नं. ४ स्थित घर पछाडी पर्खाल नजिकै प्रेसर कुकर बम राख्ने काममा गाउँपालिकाका अध्यक्षका चालक सुरज थारुको संलग्नता रहेको रुपन्देही प्रहरीले पुष्टी गरेको छ । सो बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । कोटहीमाई ४ का २४ वर्षिय थारुसहित रुपन्देही प्रहरीले बम विस्फोटमा संलग्न अन्य दुई जना सियारी ४ का २७ वर्षिय अब्दुल हकिम खान र कोटहीमाई ३ पर्सियाका २२ वर्षिय सुरज लोहारलाई नियन्त्रणमा लिएको छ ।
तिनै जनाले गाउँपालिका अध्यक्षसहित असार १ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ४ भैरव कलवारको शिवम् इम्पेक्सको दाना फ्याक्ट्री गोदाम कम्पाउण्डमा पर्खाल बाहिर प्रेसर कुकर बम विस्फोट गराएका थिए भने सो दिन विहान ६ बजे सिद्धार्थ सिटी अस्पताल पछाडिको खाली जग्गामा प्रसर कुकर बम विस्फोट गराएको रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर बि.क.ले विहीवार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
सियारी गाउँपालिका घिमिरे र व्यवसायी कलवारलाई मधेश पिपुल्स पार्टीका नामबाट फोन गर्दै रकम माग गरी धम्की दिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट लु ८५ प ६१२१ र लु २० प २५७२ नम्बरको बजाज कम्पनीको मोटरसाइकल तथा ५ थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई मूलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ विस्फोटक पदार्थ सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो विस्फोट घटनामा संलग्न अन्यको खोजी भइरहेको रूपन्देही प्रहरीले जनाएको छ ।
अपराधमा नजिकका मान्छेः लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेशराज जोशी
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले अपराधमा नजिकका मान्छेको संलग्नता भएको पुष्टी रुपन्देहीको घटनाले गराएको बताएका छन् ।
विहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बम विस्फोट घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरीको सक्रियताको कारण विस्फोटको घटनामा संलग्नता रहेकाहरु पक्राउ परेको बताए । ‘‘लामो अनुसन्धान पछि गाउँपालिकाका अध्यक्षकै चालकको घटनामा संलग्नता पुष्टी भयो । चालक थारुले अध्यक्षलाई फोनमा हुने कुराकानीहरु सबै अन्य दुई जनालाई बताउने गरेको अनुसन्धानमा खुलेको पाइयो ।’’ जोशीले भने ।
नजिकका मान्छेबाट अपराधका घटना देखिएकाले सबै सचेत हुनुपर्ने बताउँदै अपराध न्यूनिकरणका लागि प्रहरीलाई सहयोग गर्न आम सर्बसाधारणमा जोशीले आग्रह गरेका छन् । ‘‘हामीहरु अपराध न्यूनिकरणलाई सक्रियरुपमा लागेका छौं । शान्ति, अमन, चैन कायम गरी जनताको जिउधनको सुरक्षा हाम्रो पहिलो काम हो ।’’ उनले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.