श्रीन्यूज ओके रिपोर्टर
भैरहवा (२१ असार) ।
जिल्ला सदरमुकाम रुपन्देही, भैरहवा स्थित बिभिन्न क्षेत्रमा चोरी गर्दै आएकी एक समूहका मुख्य नाईकेलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने समूहका मुख्य नाइके भारत गोरखपुर उत्तर प्रदेशकी ४३ वर्षकी गीता तिवारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरत बहादुर बिकले बताए । गिता भारतमासमेत बिभिन्न चोरी अपराधमा संलग्न रही धरौटीमा छुटेको र पछिल्लो समय नेपाल–भारतको सिमावर्ति शहर भैरहवामा आएर चोरीमा संलग्न भएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख बिकले बताए ।
पछिल्लो समय चोरीको घटना बजारमा बढ्दै गए पछि प्रहरीको ब्यापक आलोचना हुँदै शान्ति सुरक्षाको प्रत्याभुतिको माग गर्न नागरिक समाजले आग्रह गर्दै आएको थियो । ‘‘हामीहरु नागरिकको जिउधनको सुरक्षामा सधैव सचेत छौं ।’’ हामी यो बिभिन्न समयमा भएको चोरीको घटनामा संलग्नलाई कानूनका दायरामा ल्याउन लागिपरेका थियौं र सबैको सहयोगमा पक्राउ गर्न सफल भएका छांै ।’’ केही फरार छन्, उनिहरुको पहिचान भइसकेको र छिटै पक्राउ पर्ने छन् । एसपी बिकले बिहीबार पत्रकार सम्मेलनमा बताए ।
घटना बिबरण अनुसार गत वैशाख ९ गते रातिको समयमा जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ०३ बस्ने हेमन्त कुमार हलुवाईको घरमा घरको मुल ढोकाको चुक्कल फुटाएर विभिन्न किसिमका सुन चाँदीको गरगहना, घडी १ थान, ल्यापटप १ थान गरी करीब ५ लाख बराबरकोे धनमाल चोरी भएको थियो ।
त्यसै गरी वैशाख २३ गते बेलुकी ५ देखि राती ११ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ३ बीरपथ स्थितमा रहेको डा. नरेन्द्र चौधरीको घर फोडी विभिन्न सुन चाँदीका गरगहना, ल्यापटप र नेपाली रुपैयाँ २ लाख ५० हजार तथा भारतीया रुपैयाँ ५० हजार चोरी भएको थियो । जेठ ३ गते सिद्धार्थनगर नगरपालिका वडा नं. ०८ अन्नपूर्ण टोल बुद्धपथ स्थितमा रहेको हुमनाथ पाण्डेको घर फोडी ल्यापटप ४ थान, मोबाइल १ थान, सुनको औठी १ थान र नगद रु ६० हजार रुपैयाँ र गत असार ११ गते राती करीब साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नं.०९ ठूलोकलोनी बस्ने श्याम सुन्दर अग्रवालको घरमा ४ जना अपरिचित व्यक्तिहरु घरमा कोही नभएको बेला प्रवेश गरी सुनको बाला ४ थान, सुनको सिक्री १ थान, सुनको ब्रासलेट १ थान, चाँदीको भाँडा २ थान, चाँदीको सिक्का ३०÷३५ वटा, हिराको औठी १ थान, हिराको ब्रासलेट १ थान, घडी ३ थान, आइफोन मोबाईल फोन १ थान र नगद रु.१ लाख १५ हजार रुपैयाँ चोरी भएको थियो । सबै घटनामा लेडी डन भनेर चिनिने गिताको संलग्नता रहेको पुष्टी भएको एसपी बिकले पत्रकार सम्मेलनमा बताए ।
गितालाई सिद्धार्थनगर नगर पालिका वडा नं. २ वाटीका स्थित दिपक यादवको एक तले पक्की घरबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनकोसाथबाट कटुवा पेस्तोल जस्तो देखिने पोस्तोल थान १, गोली राउण्ड थान १३ ’ खुकुरी थान २, चक्कु थान १, सलाई रेन्ची थान ३, छिनो थान १, लु २८ प १३६२ नं. को स्पेलेण्डर मोटरसाइकल भारतीय नम्बर प्लेटको स्कुटी, मोबाइल ५ वटा, सानो ग्यास सिलिण्डर थान १, २ वटा पाइप जोडिएको अवस्थामा रहेको ग्याँस कटर थान १, नेपाली रुपैयाँ सात हजार ६ सय ६५, भारतीय रुपैया ५ हजार ४ सय ४५ रुपैयाँ लगायत बरामद भएको एसपी बिकले श्रीन्यूज ओकेलाई बताए ।
गितालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को १४ को उपदफा (३) बमोजिम “चोरी तथा डाका सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको हातहतियार तथा खरखजना सम्बन्धी कसूर समेतमा अनुसन्धान भइरहेको बताइएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.