मनोरञ्जन शर्मा
ठाकुरद्वारा (बर्दिया) ।
बाघ संरक्षणमा एक दशकमै दोब्बर सफलता हासिल गरेपछि अहिले बढेको बाघको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा सबैको ध्यान आकृष्ट भएको छ । एक दशकमा बाघको संख्या दोब्बर गर्ने भन्दै सन् २०१३ मा रुसको सेन्टसपिटरबर्ग भएको सम्मेलनमा बाघ पाइने बिश्वका नेपाल सहित १३ देशले हस्ताक्षर गरेका थिए ।
त्यतिबेला बाघको संख्या दोब्बर गर्ने भने अनुरुप नेपालमा पनि बाघ संरक्षणमा सबै जुटे अनुसार बाघको संख्या अहिले एक दशकमा दोब्बर भन्दा बढी भएको छ । बाघको संख्या बढेसंगै बढेका बाघको व्यवस्थापन कसरी गर्ने भन्नेमा अहिले चिन्ता बढेको छ । बाघको संख्या त बढ्यो तर बढेका बाघसंगै उसको आहारा, बासस्थान, पोषिलो घाँस र पानी पोखरीको व्यवस्थापनमा ध्यान अहिले देखिनै दिन नसकेमा बाघको बढेको संख्यालाई कायम राख्न चुनौती आउने विगत ४ दशकदेखि बाघ संरक्षण अभियानमा सकृय रहेका बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
‘‘बाघको संख्या बढ्दै जानुले एक तर्फ हामी संरक्षणकर्मीहरु खुशी छांै साथमा चिन्तित पनि छाैं, अब बाघको व्यवस्थापनमा ध्यान नदिए बाघको कायम संख्या के हुने हो भन्ने हो ।’’ थापाले भने । ‘‘बाघको बढ्दो संख्याको कारण उनिहरु आवश्यक सुरक्षित बासस्थान, आहारा एवम् पानीको खोजीमा बस्ती पस्ने गरेको घटनाहरु घट्ने गरेको छ । त्यसैले अब बाघका आहारा, बासस्थान, पानीको व्यवस्थापनमा अहिले देखिनै लागिएन भने संकट आउछ ।’’ थापाले भने । बाघको लागि आहारा, पानी र बासस्थानको व्यवस्थापन गर्न सके मानव र बाघ बिचको द्वन्द धेरै कम गर्न सकिन्छ । ‘‘बाघ बढेसंगै बासस्थानको अभाव हुन्छ, त्यस अवस्थामा बाघ–बाघ बिच नै द्वन्द हुन्छ, र पराजित बाघ नयाँ गन्तव्यको र आहाराको खोजिमा मानव बस्तीको छेउमा आउने वा मारिने सम्भावना रहेको हुन्छ ।’’ थापाले भने ।
नेपालमा बाघ संरक्षणमा सबैभन्दा राम्रो सफलता बर्दिया निकुञ्जमा हासिल भएको छ । सन् २०१० मा १८ वटा बाघबाट संरक्षण सुरु भएको बर्दिया राष्ट्रिय निकुन्जमा अहिले १ सय २५ वटा बाघ रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । बाघको संख्या बर्दिया निकुञ्जमा एकदम बढेको छ । ‘‘रसियाको सेन्टपिट्र्सवर्गमा आयोजित बाघ सम्मेलनमा नेपालले गरेको प्रतिवद्धता अनुसार अहिले नेपालको बाघको संख्या दोब्बर पुगेको छ भने बर्दियामा दोब्बर भन्दा अधिकनै पुगेको छ ।’’ भण्डारीले भने । ‘‘अहिले हामी बाघ बढेसंगै त्यसको व्यवस्थापनमा पनि ध्यान दिएका छौं र सोहि अनुरुप गृड अनुसारको सोलार प्रबिधिबाट पानी निकाल्ने पानी पोखरी, घाँसे मैदान, पोषिलो घाँस लगायतमा हामी ध्यान बढाएका छौं । व्यवस्थापन हुन सकेन भने बाघ आहाराका लागि मानवबस्ती तिर जान सक्ने जोखिम पनि उच्च छ, मानवबस्ती प्रवश गरे बाघ र मानवबिच द्वन्द बढ्छ । यसले दुबैलाई खतरा छ ।’’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत भण्डारीले भने । ‘‘अब हाम्रो ध्यान बढेको बाघको व्यवस्थापन गर्ने तर्फ केन्द्रित छ ।’’ उनले भने ।
बढेका बाघलाई बाहिर नदिन बिभिन्न कार्यहरु भइरहेका छन् । बासस्थान र आहारको अभावमा नजिकैका मध्यवर्ति क्षेत्र, पहाडी बन र सिमावर्ती भारतीय जंगलमा जान सक्ने प्रबल संभावना छ, त्यसैले पनि ति बढेका बाघहरु रोक्नलाई पनि बासस्थान, आहार, पानीको व्यवस्थापन छिटो गर्नु पर्छ भन्ने हाम्रो धारणा हो र त्यही अनुरुप काम सुरु गरेका छौं । सबैको सहयोग आबश्यक छ, भण्डारीले भने । बाघको लागि अहिले निकुञ्जले प्रत्येक २÷२ किलोमिटरको ग्रिड बनाइएको छ, हरेक ग्रीडमा ३ देखि ५ हेक्टरको घाँसे मैदान, त्यहाँ सौर्य उर्जाबाट चल्ने मोटरबाट २४ सै घण्टा पानीको व्यवस्था गरिएको छ । यसले बाघको सामानुपातिक आहाराको बितरण हुने भण्डारीले बताए । बर्दियाका पर्यटन उद्यमी एवं संरक्षणकर्मी मोहन चौधरीले बाघको संख्या बढेसंगै चुनौती थपिएको भन्र्दै स्थानीय र केन्द्र सरकारले बाघ व्यवस्थापनमा बाताबरण बनाउनु पर्नेमा जोड दिए । ‘‘बाघको संख्या बढ्यो तर त्यस अनुरुप पर्यटन व्यवसाय फस्टाउन सकेन, अब बाघलाई समृद्धीसंग जोडेर अघि बढ्नु पर्छ ।’’ चौधरीले भने ।
पर्यटन व्यवसायी कृष्ण भटराईले २०४० सालपछि बाघ हेर्न पर्यटक बर्दिया आउन थालेको बताउदै बाघको संख्या दोब्बर भए जस्तै पर्यटकको संख्या पनि दोब्बर बनाउने गरी अघि बढ्नु पर्ने जनाए । ठाकुर बाबा उपभोक्ता समितिका अध्यक्ष हेमन्त आचार्यले बर्दिया निकुञ्जले स्थानिय उपभोक्ता समितिलाई सिमित आम्दानी प्रदान गर्ने गरेको र यो निकै न्यून रहेको बताए । ‘‘हामीले हाम्रो परिवार, आफन्त बाघ संरक्षणका नाममा गुमायौ तर पनि संरक्षण अभियानमा लागि पर्यौं, फल स्वरुप आज बाघको संख्या दोब्बर भएको छ तर बाघका कारण अभिभाबक आफन्त गुमाएकाहरु समुदायमा दुखी भएर बाचेका छन्, सरकारले समुदायको योगदानको आधारमा हेर्नु पर्छ ।’’ आचार्यले भने । संरक्षणमा लागेका संरक्षणकर्मी जेडएसएल नेपालका बिष्णु थपलियाले हामीले प्रतिबद्धता अनुसार बाघको संख्या दोब्बर बनार्यौ अब व्यवस्थापनमा छिटो लाग्नु पर्छ उन्ले भने ।
प्रकृती संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेलेबाघको व्यवस्थापनको लागि योजना अघि बढेको बताए । बर्दिया निकुञ्जमा सन् २०२२ को डिसेम्बरमा भएको बाघ गणना अनुसार १ सय २५ वटा बाघ रहेको छ । सो वर्ष भएको बाघ गणना अनुसार नेपालमा जम्मा ३ सय ५५ बाघ फेला परेका थिए । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशको बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा पाइएको छ । बाँकेमा २५ वटा पाटे बाघ रहेका छन् ।
लुम्बिनी प्रदेशमा पाटे बाघ बढ्नुका कारण यहाँ भालेको तुलनामा पोथी बाघको संख्या बढी हुनु पनि हो । सन् २०१३मा बाँकेमा ४ वटा मात्रै बाघ थिए । १० वर्षमा बढेर २५ पुगेको छ । अहिले बाघको संख्या चितवन राष्ट्रिय निकुञ्जमा १२८, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा ४१ वटा गरी सन् २०२२ को गणना अनुसार बाघको संख्या अहिले ३५५ रहेको छ । निकुञ्ज क्षेत्र साथै मध्यवर्ति र आसपासका वन क्षेत्रमा मात्रै नभई नेपालका उच्च पहाडी क्षेत्रमा पनि अघिल्लो वर्ष २ बाघ फेला परेका थिए । इलामको ३१६२ मिटर उचाई क्षेत्र र डडेलधुराको २५ सय मिटर उचाईमा एक एक वटा बाघ फेला परेको थियो ।
बाघको गणना
प्रत्येक चारचार वर्षमा हुने बाघ गणना गत वर्ष डिसेम्बरमा भएको थियो । प्रत्येक ४ वर्षमा बाघ गणना हुने गरेको छ । सबै राष्ट्रिय निकुञ्ज साथै बाघ पाइने तराई र पहाडका संभावित मध्यवर्ति र आसपासका वन क्षेत्रमा समेत बाघ गणना हुने गरेको छ । अघिल्लो पटक बाघ गणना हुँदा ३३९ जनशक्ती प्रयोग भएका थिए ।
नेपालमा बाघ गणना हुँदा सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८,२०१८मा २३५ र अन्तिम पटक २०२२ मा भएको बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । त्यतिबेलाको प्रतिबद्धता अनुसार नेपालमा बाघको संख्या सन् २०१८ मै २३५ पुगेको र अहिले संख्या दोब्बर भन्दा बढी छ ।
बाघको खाना, आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणको राम्रो प्रयासका कारण नेपाल बाघ संरक्षणमा सफल भैरहेको र बाघको संख्या समेत बढ्दै गएको छ ।
अन्तर्राष्ट्रिय बाघ दिवस मनाइयो
प्रत्येक वर्ष जुलाई २९ का दिनलाई विश्व भर बाघ दिवसका रुपमा मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा २०६७ सालदेखि बाघ दिवस मनाउन थालिएको हो । यो दिन बाघ संरक्षणका लागि भएका प्रयास, चुनौती, समस्या लगायतका बिषयमा छलफल समेत हुन्छ । यो वर्ष १४ औं विश्व बाघ दिवस हो । बाघ र मानिसको सह अस्तित्व यस वर्षको बाघ दिवसको नारा थियो । बर्दियाको ठाकुरद्वारामा पनि बाघ दिवस मनाइएको छ । दिवसको अवसरमा शनिबार ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा ¥याली निकालिएको छ । बाघ चोकबाट निकालिएको बाघ संरक्षण सचेतना ¥याली नगरका विभिन्न स्थानको परिक्रमा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा पुगेर समापन भएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा भएको निकालिएको र्यालीमा विद्यार्थी, पर्यटन व्यवसायी, संरक्षणकर्मी, स्थानीयबासी, कर्मचारीलगायतको सहभागीता रहेको थियो । त्यसअघि ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अशोक भण्डारीलगायतले पूजा गरेका थिए । र्यालीपश्चात आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बाघको संख्यामा वृद्धि हुनु सकारात्मक रहेको बताए । उनीहरुले बढ्दो बाघको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.