श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
लुम्बिनीको पडरीयाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । काठमाडौं जादै गरेको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसी त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कार्यालयका सूचना अधिकृत डीएसपी सन्तुलाल जयसवालका अनुसार ३८ जनाको उद्धार गरी उपचारका लागि पठाईएको छ । जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वको टोली र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमदघाटबाटको टोली उद्धारमा खटिएको छ । उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएका छन् ।
बस चालक लुम्बिनी संस्कृति न.पा.९ बस्ने बर्ष ३८ को हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परेको बस सिद्धार्थ सार्बजनिक यातायात प्रालि भैरहवामा आबद्धता थियो । उक्त बस आफनो कम्पनिमा आबद्ध रहेको र मंगलबार बेलुकी ६ बजे लुम्बिनीबाट काठमाण्डौका लागी छुटेको सिद्धार्थ सार्बजनिक यातायात प्रालि भैरहवाका अध्यक्ष सञ्जिव रोक्काले जानकारी दिए । दुर्घटनामा परी ५ जनाको मृत्यु र घाईतेहरुको उपचार नजिकैको गजुरी अस्पतालमा भैरहेको प्रहरीले जनाएको रोक्काले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.