श्रीन्यूजओके रिपोर्टर।भैरहवा
रूपन्देहीमा दुई साता भित्र भएका आगलागीका घटनामा साढे ६ करोड रुपैयाँ बढीको धनमालको क्षेति भएको रूपन्देही जिल्ला प्रशासनले जनाएको छ । रूपन्देहीका शहरी क्षेत्रमा भन्दा पनि आगलागीले ग्रामिण क्षेत्रमा नोक्सानी भएको पाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
आगलागीबाट घर, गोठ, खाद्यान्न, लत्ताकपडा, चौपाया, नगद एवं गरगहना समेत डढेको पाइयो, प्रजिअ अर्यालले भने । अहिले तराईमा दिउसो तीव्र गतिको हावाचल्ने र हावाका कारण धेरै आगलागी भएको पाइएको छ । गहुँ भित्र्याएपछि गहुको नोल खेतमा कृषकहरूले डढाउने गरेको र हावाले डढाउँदै गरेको नोल उडाएर गाउँबस्तीमा पुग्दा आगलागीका घटना दिनहुँ भैरहेका छन् ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालका अनुसार अहिलेसम्म रूपन्देहीमा आगलागीबाट १ सय ५८ घरमा क्षति पुगेको छ । त्यसमध्ये ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । उक्त घरपरिवारका ५ सय ४ जना घरबारविहीन भएको र ७१ घरमा आंशिक क्षति पुगेको बताए । आगलागी पीडितहरूका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले शुक्रबार बाट राहत बितरण सुरु गरेको छ । आगलागीबाट सबै गुमाएका पीडितहरू भने अहिले समस्यामा छन् । आगलागीबाट सबैभन्दा बढी क्षति रोहिणी गाउँपालिकामा पुगेको छ । यो पालिकामा मात्रै ५० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् ।
आगलागीबाट घरबारविहीन भएका परिवारलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले शुक्रबार मात्रै रोहिणीका १७ घरपरिवारलाई १५ देखि २० हजारका दरले नगद राहत विवरण गरेका छन् । ‘एकदुई दिनभित्रै सबै परिवारमा राहत रकम पुर्याउने हाम्रो लक्ष्य छ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘यो बीचमा हामीले पालिका र अन्य सहयोगी दातासँग सहकार्य गरेर लत्ताकपडा र खाद्यान्न पनि सहयोग गर्ने गरी काम गरिरहेका छौं ।
’ रोहिणी गाउँपालिका की सरसती हरिजनको घर आगलागीले खतम भएपछि ६ जनाको उनको परिवार अहिले छिमेकीको सहारामा छन् । शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्ला विपद् व्यवस्थापन समितिले १५ हजार रुपैयाँ राहत दियो । त्यसबाहेक उनको परिवारले अन्य कुनै राहत पाएको छैन । ‘१५ हजारले कसरी घर बन्छ रु कति दिन खान पुग्छ रु’, उनले भनिन्, ‘हामीलाई तत्काल गास र बासको आवश्यकता छ । गर्मी मौसममा कहाँ बस्ने, के खाने रु’ प्रशासन बाहेक स्थानीय पालिकाले अहिले केही राहत प्रदान नगरेको पीडितहरू बताउँछन् ।
आगलागीको घटना दिनहु हुदा पनि पीडितले प्रदेश र नजिककै स्थानीय निकायबाट राहत पाउन सकेका छैनन् । प्रशासनका अनुसार अधिकांश ठाउँमा स्थानीय बासिन्दाले ससानो कुरामा ध्यान नदिँदा आगलागीबाट ठूलो क्षति भएको छ । एक महिना अघि नै प्रशासनले जिल्लाका १६ वटै पालिकाका प्रमुखलाई बोलाएर जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेर खेतबारीमा गहुँ काटेपछि आगो नलगाउन र त्यसबारे सचेतना फैलाउन अनुरोध गरेको थियो । तर, पालिकाहरूले बेवास्ता गर्दा जिल्लाका अधिकांश ठाउँमा गहुँको छोकडमा आगो लगाउँदा हावाहुरीले बस्तीमा आगो फैलिएर क्षति भएको पाइएको छ । आगलागीबाट क्षति भइसकेपछि पनि प्रशासन बाहेक स्थानीय पालिकाले प्रभावकारीरूपमा राहत वितरण गर्न सकेका छैनन् । प्रदेश सरकारले पीडितलाई राहत दिनतर्फ ध्यान दिएको छैन, यसकारणले गर्दा चर्को गर्मी र तातो हावाका बिचमा आगलागी पीडित परिवार बिचल्लीमा छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.