श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा
रूपन्देहीको गैडहवा गाउँपालिका नवप्रवर्तन कार्यक्रम सुरु हुने भएको छ । नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारले ल्याएको नवप्रवर्तन कार्यक्रमका लागि गैडहवा छनौट भए संगै यो कार्यक्रम सुरु हुने भएको हो ।
लागत सहभागितामा आधारित यस कार्यक्रमको बजेट १८ करोड ६० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्ने छ । पालिकाले कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचवटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र भित्र रही कार्यक्रम अघि बढाउनु पर्नेछ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम निर्णय गर्न ढिलाइ हुँदा कार्यान्वयनमा ढिला हुन पुगेको हो । नवप्रवर्तन कार्यक्रममा युवाको नयाँ योजनालाई सहयोग पुऱ्याउने र अहिले भइरहेको कामभन्दा नयाँ तरिकाले गरिने कामलाई प्राथमिकता दिइने र केही नयाँपन ल्याउन सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव निराजन घिमिरेले बताए । कार्यक्रममार्फत युवालाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रदेश सरकारको योजना रहेको छ, जसले गर्दा विदेशिने युवालाई रोक्न सहयोग पुग्नेछ, घिमिरेले भने ।
रूपन्देहीको गैडहवा सहित लुम्बिनी प्रदेशका ११ पालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको हो । पाल्पाको रिब्दीकोटा गाउँपालिका, गुल्मीको कालिगण्डकी, रेसुंगा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, दाङको राप्ती गाउँपालिका छन्। यसैगरी अर्घाखाँचीको भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिका, बर्दियाको वाँसगढी नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, पाल्पाको तिनाउ गाउँपालिकामा नवप्रवर्तन कार्यक्रमका लागि छनोट गरिएको हो । प्रदेशका ६० वटा स्थानीय तहले यो कार्यक्रमका लागि प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस गरेका मध्येबाट मापदण्डमा परेका उत्कृष्ट प्रस्ताव छनोट गरिएको जनाईएको छ । छनोट हुने स्थानीय तहमा दुई वर्षसम्म यस प्रकारको कार्यक्रम सञ्चालन हुने छ।
Get real time update about this post categories directly on your device, subscribe now.