श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा
मिस नेपाल– २०२४ को अडिसन आज भैरहवामा हुदैछ । बिहान साढे ९ बजेदेखि भैरहवास्थित सिद्धार्थ भिलासा होटल (अञ्चलपुरमा)मा अडिसनको तयारी भएको हो ।
मिस नेपाल –२०२४ मा सहभागी हुन न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित युवती र दश जोड २ (प्लस २) उत्तीर्ण भएको हुनु पर्दछ । प्रतियोगितामा सहभागी हुन आवेदनको कुनै शुल्क लाग्ने छैन ।
आज हुने पश्चिम नेपालको भैरहवा अडिसनबाट अन्तिम स्पर्धाका लागि छनौट हुनेको नाम जेठ ९ गते सार्वजनिक हुने मिस नेपालका आयोजक सस्था द हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशीले श्री न्यूज ओकेलाई बताए । यस क्षेत्रको अडिसन पश्चात अन्तिम अडिसन काठमाण्डौमा जेष्ठ ५ गते शनिबार हुनेछ, फाइनल अडिसन पछि अन्तिम प्रतिस्पर्धीहरूको नामावली जेठ ९ गते सार्वजनिक गर्नेछौ, त्यसपछि उनिहरुलाई बिभिन्न विधाका शीर्षकमा २ महिना सम्म तालिम प्रशिक्षण दिएर अन्तिम प्रतिष्पर्धाका लागि तयार गराउनेछौँ, मिस नेपालको फाइनल कार्यक्रम आँउदो श्रावण १९ गते शनिबार अगस्ट ३, २०२४) काठमाण्डौको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ,निर्देशक राजवंशीले भने।
यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेताहरू हुनेछन् । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसल रहनेछन् । भैरहवा अडिसन सुरु हुनु पूर्व शनिवार इच्छुक युवती एवं उनीहरूका अभिभावकहरूको समेत सहभागितामा अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको द हिडन ट्रेजरका अर्का निर्देशक प्रमोद कंसाकारले बताए । यस अघि मिस नेपालको अडिसन बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, नेपालगञ्ज, पोखरा र सुर्खेतमा सम्पन्न भैसकेको छ ।
अन्तिम अडिसन काठमाण्डौमा जेठ ५ गते हुनेछ र मिस नेपालमा सहभागि जनाउन इच्छुक भएको तर अडिसनमा सहभागि हुन छुटेका देशैभरीका युवतीहरूले जेष्ठ १ गते सम्म www.missnepal.com.np वेबसाइट वा मिस नेपालको एपमा गई नाम दर्ता गर्न सक्ने कंसाकारको भनाई छ । भैरहवा अडिसनमा आयोजक सँगै नेन्सी खडका मिस नेपाल अर्थ २०२३ रैना मझगैया र मिस नेपाल इन्टरनेशनल २०२२ नेन्सी खडका पनि आएका छन्। उनीहरू अभिमुखीकरण कार्यक्रममा पनि सहभागि भएको नेक्सट रिभुलेसन मिस वेस्टर्न नेपालका क्षेत्रीय संयोजक राजीव खनालले बताए ।
यस वर्षको मिस नेपाल प्रतियोगिताको मुख्य प्रायोजक डाबर वाटिका रहेको छ भने गाल्डार्मा सेटाफिल र वात्सल्य आईभीएफ सहप्रायोजक रहेका छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.