श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
भारतीय मालबाहक सवारी साधनका चालक र सहचालकलाई नेपालमा यातायात चलाउँदा पालना गर्नु पर्ने ट्राफिक सम्बन्धी बिभिन्न नियमबारे जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देहीले ‘सम्झाईबुझाई’ अभियान सुरु गरेको छ ।
भैरहवा भन्सार कार्यालय परिसरभित्र उक्त अभियान साप्ताहिक कार्यक्रमका रुपमा सुरु गरिएको र एक हप्ता सम्म दैनिक रुपमा भारतीय मालबाहक सवारी साधनका चालक सहचालकलाई ‘सम्झाईबुझाई’ गरीने जिल्ला ट्राफिक प्रहरी रूपन्देहीका प्रमुख बजिरसिंह बिष्टले बताए ।
अभियानका क्रममा भन्सार परिसरमा भारतीय सवारी चालकलाई जम्मा गरेर लेन अनुशासन, ओभरटेक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराइने छ । यसक्रममा नेपालका सडकमा गाडीको भारबहन क्षमता, कति चक्के गाडीले नेपालमा कतिसम्म सामान बोक्न पाउँछन् भन्नेबारे पनि उनिहरुलाई बुझाइने छ ।
भारतीय चालकले नेपाली भाषा नबुझने भएकाले उनीहरूकै मातृ भाषामा ट्राफिक नियम लगायतका विषयमा सम्झाई बुझाई गरिएको छ । ‘धेरै भारतीय मालबाहक सवारी चालक र सह–चालकलाई नेपालको ट्राफिक नियमबारे जानकारी छैन, कतिपय जानकारी भएकाले पनि नियमको बेवास्ता गर्ने गर्छन्, यसले दुर्घटना लगायतका समस्या निम्तिने गरेको छ’, ट्राफिक प्रहरी निरीक्षक विष्टले भने, ‘हामीले यसबारे जानकारी गराइरहेका छौं । हाम्रो अभियानले भोलिका दिनमा भारतीय गाडीबाट नियम उल्लंघन साथै दुर्घटनाका घटनाहरू नहुने विश्वास छ ।’
ट्राफिकले भारतीय सवारी लक्षित अभियान थालेकाले धेरै सवारी चालक पनि खुशी छन् । नेपालको नियम, कानून बुझ्न र सिक्न पाउँदा आगामी दिनमा गन्तव्यमा पुग्ने क्रममा सहजता हुने भारतीय सवारी चालकको भनाई छ । ‘कहिलेकाँही नियम नबुझ्दा पनि भारतीय सवारीहरुले नेपालमा दुःख पाउने गरेका छन्, यसैले विशुद्ध भारतीय सवारी लक्षित अभियान सुरु गरिएको विष्टले बताए ।
भारतीय सवारी चालकलाई लक्षित गरी सीमा क्षेत्र र सडकका विभिन्न ठाउँमा हिन्दी भाषामा पनि ट्राफिक सचेतनाका बोर्डहरु राखिएको छ । अहिले भन्सार परिसरमा दैनिक भारतीय सवारी चालकलाई एकठाउँमा गराई अभिमुखीकरण सहित सम्झाईबुझाई गर्ने काम भइरहेको छ । शुक्रबारबाट सुरु भएको अभियानमा तिन दिनमा भारतीय नम्बर प्लेटका करिब ४ सय सानाठूला सवारीका चालकसहचालकलाई ट्राफिक नियमबारे सम्झाईबुझाई गरिसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । एक हप्तामा एक हजार बढी चालकसहचालकलाई यो अभियानमा जोडिने ट्राफिकको अपेक्षा छ । ।
Get real time update about this post categories directly on your device, subscribe now.