श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
वैदेशिक रोजगारका लागि विदेश जानेहरू रूपन्देहीका युवाहरू अग्रस्थानमा रहेको पाईएको छ । श्रम स्वीकृत लिनेमा लुम्बिनी प्रदेशका युवाहरू सबैभन्दा अगाडि रहेका छन् । सुरक्षित आप्रवासन सामी कार्यक्रमकी रूपन्देही संयोजक सिता पन्थका अनुसार आर्थिक वर्ष २०६४/२०६५ देखि २०८० पुस मसान्त सम्म रूपन्देहीका १ लाख ५५ हजार ८ सय १५ जनाले श्रम स्वीकृत लिएका थिए ।
श्रम स्वीकृत लिएका मध्ये ९९ प्रतिशत वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । सामी कार्यक्रम संयोजक पन्थले भैरहवामा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जाने रूपन्देहीका युवाहरूको संख्या दैनिक बढ्दै गएको बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७९।८०मा २३ हजार २ सय ५९ जनाले तथा चालु वर्षको पुष मसान्त सम्म १० हजार ९ सय ९४ जनाले श्रम स्वीकृति लिएका थिए ।
यसरी श्रम स्वीकृति लिएर जानेहरूको अहिले मुख्य गन्तव्य भनेको मलेसिया, कतार, साउदी अरब, कुबेत, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, मालदिभ्स लगायतका देश हुन् । श्रम स्वीकृति नलिई भिजिट भिसा तथा पर्यटक भिसामा गई त्यतै काम गरेर बस्नेहरुको संख्या पनि अत्यधिक रहेको पन्थले बताइन् । श्रम स्वीकृति नलिई अवैधानिक तरिकाले रोजगारीमा जानेहरूले धेरै दुख पाउने गरेको र उनीहरूको उद्धार गर्न चुनौती रहेको पन्थले बताइन् ।
युवतीहरू अहिले वैदेशिक रोजगारमा जाने गरेको तर धेरै युवतिहरू असुरक्षित तरिकाले भारतीय भूमि हुँदै विदेश पुग्ने गरेको र त्यहाँ पुगेर थ्रेटका काम गर्न बाध्य बनाइने गरेको र त्यहाँ धेरै घरेलु कामदारका रुपमा रहेर कामगर्दा घरेलु हिंसाको सिकार भएको पाइएको उनले बताइन् ।
वैदेशिक रोजगारमा जाने महिलाहरू काठमाण्डु बाहेक अन्यत्र बाट विदेश जान पाइदैन । तर दलालका प्रलोभनमा परी महिलाहरू चोर बाटो हुँदै वैदेशिक रोजगारीमा जाने गरेका छन् । कतिपय महिलाहरू त वैदेशिक रोजगारीका नाममा भारतका बिभिन्न शहरमा बेचिने गरेको घटनाहरू बढी रहेको ,पन्थले बताइन् । वैदेशिक रोजगारीमा जानेहरूले सूचना तथा जानकारी अभावले गर्दा वैदेशिक रोजगारी बारे जानकारी नहुनु, अभिमुखीकरण तालिम नपाउने, बिमा, सम्झौता, लागत, कम्पनी देश मेनपावरका विषयमा ज्ञान नहुदाँ दुख पाइरहेकाले बि विषयहरूमा वैदेशिक रोजगारमा जानेहरूका लागि परामर्श सामीले प्रदान गर्दै आएको पन्थले बताइन् ।
सामीले सूचनामा पहुँच, सीप विकास तालिम, न्यायमा पहुँच, कानुनी सहजिकरण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता लगायतका विषयमा काम गर्दै आएको पन्थको भनाई छ । सामी कार्यक्रम वैदेशिक रोजगारीमा जान चाहनेहरू, उनीहरूका परिवारका लागि सहजिकरण गर्ने कार्यक्रम हो । सामी कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विस सरकार बिच भएको सम्झौता अनुसार सञ्चालित कार्यक्रम हो । हेल्भेटास नेपाल साझेदारका रुपमा रहेको यो कार्यक्रम रूपन्देहीका सिद्धार्थनगर, तिलोत्तमा, बुटवल र कञ्चनमा सञ्चालनमा रहेको सामी सस्था रूपन्देहीकी रुबिता थापाले बताइन् ।
वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि परामर्श, गन्तव्य देशका विविध पक्षको बारेमा लगायत अभिमुखीकरण, वैदेशिक रोजगारबाट फर्केर गएकाहरूलाई वित्तिय साक्षरता परामर्श साथै रोजगारमा रहेकाका परिवारहरूलाई बिभिन्न तालिम दिई स्वरोजगार बनाउने, हिसामा परेकाहरूको उद्धार एवं कानुनी उपचारका लागि परामर्श एवं सहयोग प्रदान सामी कार्यक्रमले गर्ने गरेको थापाको भनाई छ । सामीले रूपन्देहीमा हाल सम्म १९३१३ जनालाई (महिला ५३५६) अभिमुखीकरण कार्यक्रम तथा ४२२ जनालाई वित्तिय साक्षरता दिएको छ ।
सामी कार्यक्रमका विषयमा भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगरकी उप प्रमुख उमा अधिकारीले चेलीबेटीहरूलाई अहिले वैदेशिक रोजगारका लागि भारतीय बाटो हुँदै तेश्रो मुलुक पुर्याइने गरेको घटनाहरू बढी रहेको जनाउदै सचेतनाको अभावमा चेलिबेटीले दुख पाएको बताइन् । वैदेशिक रोजगारीमा जानै परे सबै प्रकृया पुरा गरी, कुन देश जाने हो त्यो देशको भाषा, रहनसहन, हावापानी, खानपिन लगायतका बिषयमा जानकार भएर मात्र जान र वैदेशिक रोजगारमा जादा सीप सिकेर जान उन्ले आग्रह गरिन् ।
वैदेशिक रोजगारका लागी १११ देशमा जान पाइन्छ भने व्यक्तिगत श्रम स्वीकृत लिएर रोजगारमा जान सकिने देशहरू १७८ रहेका छन् । अफगानिस्तान, इराक, रसिया, युक्रेन, लिबियामा काम गर्न जान प्रतिबन्ध रहेको छ ।
यो समाचार २०८१ जेष्ठ महिना ६ गतेको न्यूज ओके पत्रिकामा समेत प्रकाशित छ ।
Get real time update about this post categories directly on your device, subscribe now.