श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
२५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१को विशेष कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार अपरान्ह लुम्बिनी आइपुगेका छन् । लुम्बिनी आइपुगेका प्रधानमन्त्री दाहालले लुम्बिनी मायादेवी मन्दिर परिसरमा गएर शान्तिको कामना सहित द्विप प्रज्वलन गरेका छन् ।
त्यसै गरी शान्ति द्विप क्षेत्र दक्षिण बाल बुद्धको प्रतिमा रहेको स्थानमा भारतीय दुतावास द्धारा आयोजित बुद्ध जीवनीमा आधारित चित्रकला प्रदर्शनीको उद्घाटन गरे । सो लगत्तै दुतावास द्धारा त्यहाँ आयोजित विविध सांस्कृतिक कार्यक्रममा समेत सहभागी भए । बिहीबार २५६८ औं बुद्धजयन्तीको मुल समारोहमा प्रधानमन्त्री दाहाल मुख्य अतिथीका रुपमा रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागी भारतिय राजदूत नवीन श्रीवास्तव पनि लुम्बिनी आइपुगेका छन् ।
बुद्धजयन्तीमा काठमाण्डौमा स्थित बिभिन्न दुतावासको राजदूत एवं कूटनीतिक नियोगका उच्च व्यक्ति, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरू सहित विदेशी पाहुनाहरूको समेत सहभागिता रहने कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले बताए ।
उनका अनुसार बुद्धजयन्तीको सबै तयारी पुरा भएको छ । प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक एवं कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी सहित रामग्राम, कपिलवस्तु र देवदहमा समेत विविध कार्यक्रम गरिने बताए ।
बुधबार साँझ मायादेवी परिसरमा अहोरात्र महा परित्राण पाठ भएको छ । मूल समारोहका दिन जेठ १० गते विहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थना , बिहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ । लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्नेगरि त्रिदेशीय मोटरसाइकल यात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा ज्येष्ठ ११ गते हुनेछ। शिशु बोधिसत्वको घर फिर्तीको झल्को दिने गरी लुम्बिनीबाट मायादेवी सुत्केरी मार्ग हुँदै प्राचीन कपिलवस्तुसम्म शोभायात्रा आयोजना हुनेछ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तुधातु रहेको रामग्राममा पण्डितपुर देखि रामग्राम सम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरूले सहकार्य गरेको जनाइएको छ ।
यस अघि प्रधानमन्त्री दाहाललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ तथा लुम्बिनी बिकास कोषका उपाध्यक्ष एवं संबिधानसभा सदस्य डा. ल्यारक्याल लामाले स्वागत गरेका थिए ।

Get real time update about this post categories directly on your device, subscribe now.