बिजय गोबिन्द श्रेष्ठ
भैरहवा– नेवारी भाषामा म्ह शब्दको अर्थ हुन्छ शरीर । पूजा शब्दले पवित्र पूजा कार्यलाई नै जनाउँदछ । अर्थात म्हपूजा शब्दले साधारण अर्थमा शरीरको पूजा जनाउँदछ ।
नेवार समुदायले कार्तिक शुक्ल प्रतिपदाको पवित्र दिनको बिहान सूर्योदय हुनासाथ नयाँसाल नेपाल संव्तलाई हर्षोल्लासकासाथ स्वागत गरी मनाउँदछन् । साँझ आ–आफ्नो घरको फराकिलो ठाउँमा परिवारका सबै सदस्यहरू जेष्ठताक्रम अनुसार पूर्व मुख फर्काएर ‘म्हपूजा’ गर्दछन् ।
अरू कुनै जात जातिका समुदायले म्हपूजा गर्दैनन् तर नेवार समुदायले मात्र किन गर्छन त ? यो जिज्ञासा उठ्नु स्वभाविकै हो ।
किंवदन्ती अनुसार –
(१) राजा राघवदेवको पालामा शंखधर साख्वा नामका एक नेवार प्रजाले राजाको स्वीकृती लिएर नेपाल उपत्यकाका सबै जनताहरूको ऋण चुक्ता गरी दिए । अनि कार्तिक शुक्ल प्रतिपदाको अति पवित्र दिनमा (वि.सं. ९३६ कार्तिक शुक्ल प्रतिपदा विहिवार तद्अनुसार ई.सं. ८७९ अक्टोवर २० बिहिवार) राजा राघवदेवबाट नेपालमा नयाँ नेपाल संव्तको घोषणा गराए । देशमा नयाँ संवत् चलाइएको खुशीयालीमा सारा प्रजाहरूले म्हपूजा गरेर मनाइएको थियो । त्यो खुशीयालीको परम्परा नेवार समुदायले ज्यूँदोरूपमा मनाउँदै आईरहेका छन् ।
(२) धेरै वर्ष पहिले नेपाल उपत्यकामा ठूला आगलागी भई धेरै जनधनको नोक्सान भयो । देवी देवताहरूको भाकल गरे । आगलागी शान्त भएपछि कार्तिक शुक्ल प्रतिपदाको पवित्र बिहान भाकल अनुसार खुशीयाली साथ देवी देवताहरूको पूजा गरी साँझ सबै जनताहरूले ‘म्हपूजा’ गरी खुशीयाली मनाए ! जो परम्परागत रूपमा नेवार समुदायमा म्हपूजा गर्ने प्रचलन रहँदै आएको छ ।
(३) परापूर्वकालमा नेपाल उपत्यकामा महामारी रोग फैलिएर जनताहरू भकाभक कालको मुखमा जान थाले । त्यसबेला राजा जनता सबै मिली महामारी शान्त पारिदिन देवी देवताहरूको भाकल गरे । केही समय पछि महामारी रोग शान्त भयो । भाकल अनुसार सबै मिलेर कार्तिक शुक्ल प्रतिपदाको पवित्र दिन बिहान देवी देवताहरूको पूजा – आजा गरी साँझ म्हपूजा गरी खुशीयाली मनाए । त्यही खुशीयाली नेवार समुदायले आजसम्म म्हपूजा गरी मनाउँदै आईरहेका छन् ।
यी भए किंवदन्ती । तर नेवार समुदायले म्हपूजा मनाउनु भित्र आफ्नै दर्शन छ ।सर्वप्रथम त मान्छेले आफूले आफूलाई चिन्न सक्नु पर्दछ । आफूले आफूलाई नचिन्दा सम्म मान्छेले अरू कसैलाई पनि चिन्न सक्दैन । मान्छेमा जब दया, माया, करूणा र स्नेह लबालब भरिएको हुन्छ त्यो बेला मान्छे भगवान्को रूपमा हुन्छ ।
जुनबेला मान्छे रिस, राग, द्वेष र प्रतिशोधको भावनाले ग्रस्त भएको हुन्छ त्यो बेला मान्छे दुष्ट अर्थात राक्षशको रूपमा प्रस्तुत भएको हुन्छ ।
मान्छे जब दया, माया, करूणा र स्नेह तथा रिस, राग, द्वेष र प्रतिशोधका भावनाहरूलाई आफ्नो काबुमा राखेर मानविय भावना अनुरूप कार्य गरिरहेको हुन्छ त्यो बेला मान्छे मान्छेहरू माझ असल मान्छे भएर प्रस्तुत भई रहेको हुन्छ ।
यसकारण मान्छेले आफूमा निहित मानविय सद्गुणलाई सधैं आफूमा जोगाई राख्नको निम्ति मान्छे भित्र रहेको चेतनालाई राक्षशी प्रवृत्तीमा ढल्किन नदिन प्रत्येक वर्ष म्हपूजा गर्ने गरेर सजग गराउँदै आइरहेको हो ।
नेवार समुदायले म्हपूजा गर्दा प्रत्येक सदस्यको अगाडि एउटा मण्डल हुन्छ । मण्डलमा बालिएको खलुइताः (विशेष प्रकारको लामो तेल बत्ती) राखेर प्रकाशमय गरिएको हुन्छ । मण्डल मान्छेको स्थुल शरीरको प्रतिक हो । मण्डलको बीचमा पाँच वटा साना साना गोलाकार मण्डल बनाइएका हुन्छन् । यी साना साना गोलाकार मण्डलहरू पञ्चतत्वका प्रतिक हुन – पृथ्वी, जल, वायु, तेज र आकाश । अर्थात मान्छेको शरीर पञ्चतत्वको मिश्रणबाट बनेको हुन्छ । यी सबै तत्व आफै मा शक्तिमान छन् । यस्ता शक्तिमान पञ्चतत्व मिलेर शरीरमा चेतनतत्वको श्रृष्टि भएको हुन्छ । जब शरीरको चेतनतत्वले शरीर छाड्छ तब शरीर मुर्दामा परिणत हुन्छ ।
जबसम्म शरीर रहन्छ तबसम्म चेतन तत्व माफ समाजको भलाई खातिर उत्प्रेरणा गरिरहन नेवार समुदायले म्हपूजाको प्रचलन चलाएका हुन । म्हपूजा कहिले देखि सुरू भयो यो खोजको विषय हो ।तर म्हपूजाले जसरी आफूलाई चिनेर समाजको हीतको कार्य गर्न पवित्र सन्देश दिई रहेको हुन्छ त्यो अनुकरणीय छ ।
अन्तमा,
नेवारीमा एउटा अति प्रचलित गीत छ –
थःत थःम्ह म्हमसिया अति दुःख सिल रे !
अर्थात आफूले आफैलाई नचिनेर अति दुःख पाइयो रे !
Get real time update about this post categories directly on your device, subscribe now.