श्रीन्यूज ओके रिपोर्टर
भैरहवा– हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको मुख्य दिन आज भाइटीका हो ।
आज भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३७ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरीसकेको छ ।
भाइटीका लगाउँदा कता फर्केर टीका लगाउने ?, भाइटीकामा दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।
यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाउने पश्चिम फर्केर बस्नु उत्तम छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा भए पनि त्यसपछि दिनभर लगाउन मिल्छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।
Get real time update about this post categories directly on your device, subscribe now.