श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन ।याे दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातीर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद लिने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा काठमाडौं थानकोट नजिकै रहेको मातातीर्थमा ठूलाे मेला लाग्ने गरेकाे छ। आज मातातीर्थ कुण्डमा स्नान गर्दछन् ।
जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।
ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए ।
गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।
यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ।
मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, पाईला चाल्न ताते ताते गर्दै सिकाईन, गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।
Get real time update about this post categories directly on your device, subscribe now.