श्रीन्यूज ओके रिपोर्टर
भैरहवा । नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ पुस २८ गते हुने भएको छ । मञ्चले आईतबार पत्रकार सम्मेलन मार्फत अवार्ड समारोह मिति घोषणा गरेको हो । प्रत्येक बर्ष असार महिना(जुलाई २)मा हुदै आएको स्पोर्टस अवार्ड यस पटक कोरोना भाईरस संक्रमणका कारणले निर्धारित तिथीमा हुन नसकेको र अहिले विगत वर्षहरुमा भन्दा कार्यक्रम अलि फरक ढंगले गर्ने जमर्को गरेको मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले बताए ।
कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गर्नुपर्ने बाध्यता छ, अध्यक्ष सुबेदीले भने । कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ, त्यसबाट नेपाल पनि अछुतो छैन , झन्डै ९ महिनादेखि कोरोना कहरलाई भोग्दै आइरहेका छौं र यो अवस्थाबीच पनि हामीले यस स्पोर्टस अवार्डलाई निरन्तरता दिने आँट गरेका छौं, सुबेदीले भने । विभिन्न विधामार्फत खेलाडीहरूलाई वर्षभर प्रदर्शन गरेका आधारमा मञ्चले खेलाडीहरुलाई पुरस्कृत गर्दै आएको छ । उनीहरुलाई उत्कृष्ट प्रदर्शन दिलाउन योगदान दिने प्रशिक्षक पनि सम्मानित हुनेछन् । साथै नेपाली खेलकुदमा विशेष योगदान पु¥याउने खेलकर्मीलाई पनि स्पोर्ट्स अवार्डबाट सम्मानित गरिने मञ्चका महासचिब प्रज्वल ओलीले बताए । विगत वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्दै आएको कार्यक्रम यसपालि सातदोबाटोस्थित कराते हलमा सेमी भर्चुअलको माध्यमबाट हुनेछ ।
पल्सर स्पोर्टस अवार्ड २०७६ मा १० विधामा अवार्ड प्रदान गरिने छ । यस वर्ष एक नयाँ विधा थप गरिएको मञ्चले जनाएको छ । गत वर्ष थपिएको विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गर्ने महासचिब ओलीले जनाए ।
वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने र यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको तथा ति विधामा खेलाडीको मनोनयन चाँडै सार्वजनिक गरिने पत्रकार सम्मेलनमा बताईयो । लाइफटाइम, पारा र टिम अफ दी इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिने मञ्चले जनाएको छ । विगतमा झै वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकगरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल र अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने बताईएको छ । बिगतमा जस्तै यस वर्ष पनि स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनीले स्पोर्टस अवार्ड कार्यक्रमका लागि मञ्चलाई २८,०००००।– अठ्ठाइस लाख रुपैयाँबराबर नगद र जिन्सी उपलब्ध गराउने संझौता समेत भएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा अवार्ड मूल आयोजक आयोजक समिति गठन भएको छ । त्यसै गरी मञ्चका सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.