- भैरहवा
पर्बतका अनिश थापाले रोटरी हाफ म्याराथनमा उत्कृष्ट टाइमिङ सहित पहिलो भएका छन् । शनिबार भैरहवामा सम्पन्न भएको २१.१ किलोमिटरको दुरी उनले १ घन्टा ६ मिनेट ३९ सेकेण्डमा पुरा गरेका हुन् ।
भारतीय सेनामा कार्यरत थापाको यो टाइमिङ नेपाली खेलाडीको हाफ म्याराथनमा अहिले सम्मकै उत्कृष्ट रहेको आयोजकको दाबी छ । सन् २००२ को मे ५ मा बेल्जियमा ब्रसेल्समा भएको वल्र्ड हाफ म्याराथन च्याम्पियनसिपमा खिमु गिरीले दुरी १ घन्टा ७ मिनेट २२ सेकेण्डमा पुरा गरेका थिए । हाफ म्याराथनमा नेपाली खेलाडीको यो रिकर्ड अहिलेसम्म तोडिएको थिएन । तर शनिबार भैरहवामा सम्पन्न रोटरी हाफ म्याराथनमा पर्बतका थापाले गिरीको रेकर्ड तोडेका छन् । यद्यपी यो रेकर्डलाई राष्ट्रिय खेलकुद परिषद वा नेपाल एथलेटिक्स संघले मान्यता दिन्छ या दिदैन, हाफ म्याराथनका संयोजक राजकुमार गुप्ताले भने ।
थापाले पनि आफुले उत्कृष्ट समयमा पुरा गरेको र रेकर्डनै तोडिएको भन्ने कुरा पछि मात्र थाहा पाएको बताए । उनले प्रतियोगिता जित्नुनै ठूलो उपलब्धि रहेको समेत बताए ।
पर्वतका थापा हाल गोर्खा राइफल्समा कार्यरत छन, विदाको समयमा नेपाल आएका उनी हाफ म्याराथनमा सहभागी भएका थिए । यस्तै भारतीय सेना गोर्खा राइफल्समा कार्यरत पाँचथरका दिपक सुवाङ १ घण्टा, ८ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी दोश्रो भएका छन् । १ घण्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार सशस्त्र प्रहरी बलमा कार्यरत कैलालीका किरण सिंह बोगटी तेस्रो भएका छन् । बोगटी १३ औं सागमा म्याराथन तर्फ स्वर्ण पदक विजेता हुन् । अहिले आफु बिरामी भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेको र अहिले उपचार पछि बिस्तारै फिल्डमा आएको तथा अहिलेको यो प्रदर्शनले हौशला बढेको बताए ।
म्याराथनका विजेताले नगद १ लाख, दोस्रोले ७५ हजार, तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिला तर्फ नेपाली सेना ५ नंम्बर बाहिनी कपिलवस्तुकी भावना शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पुरा गरी विजेता बनेकी छन् । नेपाली सेना गोरखदल पाल्पाकी मिनिशा थापाले १ घण्टा ४२ मिनेट १८ सेकेण्डमा दुरी पार गर्दै उपविजेता र खुला रुपमा बर्दियाकी कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । महिला तर्फका विजेतालाई नगद २० हजार उप विजेताले १५ हजार तथा तेस्रो स्थानमा आउनेलाई १० हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।
रोटरी क्लब अफ भैरहवाको आयोजना, मारुती फुडपार्क, काठमाण्डौ गेट प्रिमियर बासमती राईसको मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टको सहप्रायोजनमा भएको म्याराथनमा इङलेण्डका एक जना खेलाडी सहित २ सय १६ जना धावकहरुको सहभागिता रहेको थियो । जस मध्ये ५ जना महिला सहभागी भएका थिए ।
बुटवलको पुष्पलाल पार्कबाट शुरु भएको म्याराथन सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै सानु डिपार्टमेन्टल स्टोर चोकमा समापन भएको थियो । प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले र समापन रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.