- न्यूज ओके रिपोर्टर
भैरहवा ।
नेपालकै पुरानो लिग क्रिकेटका रुपमा लिइने रुपन्देहीको सुपरलिग क्रिकेटको यस वर्षको संस्करणको तयारीमा रुपन्देही क्रिकेट संघ जुटेको छ । ५० ओभरको खेल हुने यो सुपरलिग नेपालकै पुरानो भएको प्रतियोगिता रहेको दाबी रुपन्देही क्रिकेट संघका निवर्तमान अध्यक्ष प्रशान्त बिक्रम मल्लको छ । नेपाल क्रिकेट संघका निमित्त सचिव समेत रहेका मल्लका अनुसार यो लिग मुट्ठी दानबाट चलेको छ । ‘‘सहयोगीहरुले प्रदान गर्ने १ सय रुपैयाँ पनि हामीले लिने गरेका छांै, कसैले बल, कसैले नगद, कसैले ब्याट कसैले खाना प्रायोजन गर्नु हुन्छ, सबैको सहयोगले ५० को दशकबाट सुरु भएको यो लिगले अहिले सम्म यात्रा गरीरहेको छ ।’’ उनले भने ।
२०५४ सालमा पहिलो पटक सुरु भएको लिग यो साल आउँदो शनिबारबाट सुरु गर्ने योजनामा छौं, क्रिकेट संघ रुपन्देहीका सचिव सञ्जय गुरुङ्गले भने । सुपर लिगको फरम्याट पनि अलग नै छ । ‘‘पहिला बि डिभिजनका क्लबहरु बिच लिग सुरु हुन्छ, ति बि डिभिजनको क्लब बिचको खेलबाट ४ टिम ए डिभिजनमा बढुवा हुन्छन् । ति बढुवा भएका ४ टिम र ए डिभिजनका ८ टिम गरी जम्मा १२ टिम बिच सुपर लिग फेरी हुन्छ ।’’ गुरुङ्गले भने । ‘‘१२ टिम बिच लिग हुदा पुछारका ४ टिम रेलिगेशनमा परी बि डिभिजनमा घटुवा हुन्छन् । उत्कृष्ट ४ टिम बिच फेरी लिग हुन्छ र उत्कृष्ट २ फाइनल खेल्नेछन् । जम्मा ३१ खेल लिग अवधिभर हुनेछ ।’’ सचिब गुरुङ्गले बताए । ए डिभिजनमा वेष्टर्न क्रिकेट क्लव बुटवल, लुम्बिनी खुकुरी क्लब बेलहिया, न्यू होराइजन क्रिकेट क्लब बुटवल, बुद्ध क्रिकेट क्लब भैरहवा, एमसिसि भैरहवा, तिरुपति क्रिकेट क्लब भैरहवा, एक्सपर्ट जिआर क्रिकेट क्लब बेलबास, बुटवल ११ रहेका छन् । प्रतियोगिताको उद्धेश्य भनेकै नयाँ खेलाडी जन्माउने, क्रिकेटको विकास गर्ने हो, संघका उपाध्यक्ष धिरज अधिकारी बताउछन् । २०५४ सालमा सुरु भएको यो लिग मा त्यतिबेला ८ टिम थिए । त्यसपछि १२ हुँदै २० टिम पुगिसकेका छन् ।
गत वर्ष लिग बिजेताले ७५ हजार र उपबिजेताले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकोमा अहिले बृद्धी गर्ने योजना संघको रहेको छ । संघमा दर्ता भएका क्रिकेट क्लबहरु २४ वटा रहे पनि ४ वटा क्लबहरु निष्क्रिय रहेकाले लिगमा सहभागिता नगराइएको र प्रत्येक टिमले जिल्ला बाहिरका ३ नेपाली खेलाडी राख्न सक्ने व्यवस्था संघले बनाएको छ ।
बि डिभिजनमा रहेका क्लबहरुमा देबदह क्रिकेट युनिट, लुम्बिनी शाक्यान, बुटवल युथ, सैनामैना क्रिकेट क्लब, प्रोफेशनल मास्टर्श ११, ज्ञानोदय क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, स्टार क्रिकेट क्लब, साइग्लोबल क्रिकेट क्लब, बुटवल राइनोज, शंकरनगर क्रिकेट क्लब र गोलपार्क क्रिकेट क्लब रहेका छन् । यि १२ क्लब बिच शनिबार बाट खेल सिद्धार्थ रंगशालामा हँुदैछ ।
Get real time update about this post categories directly on your device, subscribe now.