- मनोरञ्जन शर्मा ।
मोफसलको प्रतिष्ठित लिस्नु कप फुटबलको २०औं सस्करण यहि भदौ १८ गते शनिवारदेखि हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटीहवा स्थित पशुपति मा.वि.को मैदानमा हुने प्रतियोगिताको फर्मयाट यो पटक नाइन ए साइड अन्तरगत गराइको छ । आयोजक संस्था लिस्नु युवा क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । यस अघि २ वर्षसम्म कोरोना महामारीका कारणले हुन नसकेको प्रतियोगिता अर्को हप्ताबाट सुरु हुने भएपछि फुटबल प्रेमीमा खुशी छाएको छ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा रुपन्देहीका लिस्नु फुटबल क्लब, सम्पूर्ण युवा क्लब तिलोत्तमा, सञ्जिवनी युवा क्लब, तिलोत्तमा, झरना स्पोर्टस क्लब, कुन्जलापुर, तिलोत्तमा, फर्साटिकर फुटबल क्लब, नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, अञ्चलपुर युवा क्लव, गोर्खा ब्वाइज स्पोर्टश क्लब, आयन फुटबल क्लब, मुर्गिया फुटबल क्लब, दि युनिटी क्लब, नवलपरासी ११, फोर ब्रदर्श फुटबल क्लब नवलपरासी, पाल्पा एघार, राइजिंग स्टार फुटबल क्लब कपिलवस्तु र वालिङ्ग नगरपालिकाको टिम गरी १६ टिमले प्रतिष्पर्धा गर्ने अध्यक्ष मल्लले बताए । प्रतियोगितामा सहभागि क्लबले कम्तिमा ३ जना स्थानीय खेलाडी खेलाउनै पर्ने जानकारी दिएको छ ।
प्रतियोगितामा विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक मिन बहादुर गुरुङ्गले बताए ।
प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगितामा दर्शकहरुका लागि २ लाख रुपैयाँ खर्च गरी अस्थाई प्याराफिट निर्माण गरिएको क्लबका सचिव मनोज क्षेत्रीले बताए । पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष तथा तिलोत्तमा नगर पालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गले प्रतियोगिताका लागि सक्दो सहयोग गर्ने र नगरभित्र एक फुटबल मैदान आवश्यकता रहेकाले त्यसमा ध्यान दिएको बताए । उनले प्रतियोगितामा बर्सेनी लाखौ रुपैयाँ अस्थाई संरचना निर्माणमा खर्च हुने गरेकाले पनि स्थाई रंगशाला निर्माणमा आफूहरुको जोड रहेको बताए ।
रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले कोरोनाका कारण सिथिल भएको फुटबल गतिविधि पुनः सुचारु भएको बताउँदै जिल्लाको फुटवल विकास र प्रतियोगिताहरु निरन्तरताको लागि सबैको सहयोग आवश्यक रहेको बताए । पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष कृष्ण गुरुङ्ग, पत्रकार माधव ढुंगाना, रुपन्देही रेफ्रि संघका अध्यक्ष ज्ञान बहादुर थापा लगायतले प्रतियोगिता सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । प्रतियोगिताको साबिक विजेता फर्साटिकर फुटबल क्लब हो । क्लबका अध्यक्ष तिर्थराज मल्लको सभापतित्व र सचिव मनोज क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । लिस्नु युवा क्लब २०५७ सालमा स्थापना भएको हो र यो फुटबलमा मात्र नभई अन्य सामाजिक गतिविधिमा पनि संलग्न रहँदै आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.