- मनोरञ्जन शर्मा
भैरहवा ।
रुपन्देहीको तिलोत्तमामा जारी लिस्नु कप फुटबल प्रतियोगिताको हिजोको खेलमा गोर्खा ब्वाइज स्पोर्टस क्लव बुटवलले सनराइज फुटबल क्लब नवलपरासीलाई १–० गोलले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा टुङ्गिए पछि निर्णयको लागि टाईब्रेकरको सहारा लिइएको थियो । टाईब्रेकरमा पनि ५–५ गोलको बराबरी भए पछि सडेन डेथमा गोर्खा ब्वाइज भाग्मानी ठहरियो । सडेन डेथमा गोर्खाका अनुज गैरेले गोल गर्दा सनराइजका दिलिप चौधरीको प्रहार फस्टबार नजिकैबाट बाहिरीएको थियो ।
यस अघि खेल सुरु भएको ९ मिनेटमा गोर्खाका अनुज गैरेले गोल गर्दै अग्रता दिलाएका थिए । गोर्खाको अग्रता कायम रहन सकेन । सनराइजका बेदुनाथ भट्टराईले २६ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भए । ३० मिनेटमा मनिष चौधरीले गोल थप्दै सनराईजलाई २–१ को अग्रता दिलाए । ४२ मिनेटमा बेदनाथले व्यक्तिगत दोश्रो गोल गर्दै सनराईजको अग्रता ३–१ पुर्याए ।
मध्यान्तरसम्म ३–१ ले पछि परेको गोर्खा ब्याइज त्यसपछि भने लयमा देखियो । गोर्खाका कप्तान निशान्त न्यौपानेले फ्रि किकमार्फत आकर्षक गोल गर्दै गोल अन्तर ३–२ बनाए । ७३ मिनेटमा आफैले हानेको फ्रि किक प्रहारको फर्किएको बललाई कप्तान न्यौपानेले गोलमा परिणत गरी खेललाई ३–३ को बराबरीमा ल्याउन सफल भएका थिए । खेलमा गोर्खां ब्याईजका निशान्त न्यौपाने म्यान अफ द म्याच घोषित भई ३ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिता अन्तरगत मंगलबारको खेल सम्पूर्ण युवा क्लब सुपौली तिलोत्तमा र राईजिंग स्टार युवा क्लव शिवराज नगर पालिका कपिलवस्तु बिच हुने आयोजक लिस्नु युबा क्लबले जनाएको छ । २० औं सस्करणको लिस्नु कप शनिवारदेखि तिलोत्तमानगर पालिका वडा नम्बर १५ कोटीहवा स्थित पशुपति माविको मैदानमा आयोजना भइरहेको छ ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैया र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाईनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व.डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.