- मनोरञ्जन शर्मा
भैरहवा ।
लिस्नु युवा क्लब, रुपन्देहीको कोटीहवामा जारी २०औं लिस्नु कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार कोटीहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न सेमिफाइनल खेलमा आयोजक समेत रहेको लिस्नुले पाहुना टिम फोर ब्रदर्श एफसी नवलपरासीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको प्रारम्भ मै १ गोल खाएर बिचलित बनेको आयोजक लिस्नुले त्यसपछि भने आक्रामक खेल प्रस्तुत गर्दै फोर ब्रदर्शलाई खेलमा फर्कने अवसरनै दिएन् । फोर ब्रदर्शले २३ मिनेटसम्म खेलमा अग्रता कायमै राखे पनि त्यसपछि भने लडखडाउन पुग्यो । लयमा फर्कदै आयोजकले गोल गर्दै गयो । २४ मिनेटमा लिस्नुका शुशिल राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउन सफल भए । लगत्तै २६ मिनेटमा लिस्नुबाट खेलेका अफ्रिकन खेलाडी फोफनाले गोल गर्दै २–१ को अग्रता गराए ।
मध्यान्तरसम्म २–१ गोलले अग्रता लिएको आयोजक लिस्नुले मध्यान्तर पछि थप २ गोल गर्न सफल भयो । ५३ मिनेटमा हिमाल थापाले गोल गर्दै ३–१ को अग्रता बनाउँदा ५९ मिनेटमा पुनः हिमाल थापाले व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता ४–१ बनाउन सफल भए । खेलको अन्त तिर एकाध गोलका प्रयास फोर ब्रदर्शबाट भए पनि असफल भयो । फाईनल प्रवेश गरेको लिस्नुले अब आइतबार साविक विजेता फर्साटिकर फुटबल क्लब तथा सञ्जीवनी युथ क्लब तिलोत्तमा देबीनगर बागधुरा बिच हुने सेमिफाईनल बिजेतासंग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।
लिस्नुका शुशिलराईले उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ म्याच घोषित हुँदै ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई बरीष्ठ समाजसेवी एवं माउन्ट एभरेष्ट कत्था उद्योगका प्रबन्ध निर्देशक बसन्त रोक्काले पुरस्कार प्रदान गरे । त्यस्तै गरी माईडियाको अधिकृत बिक्रेता भैरहवाको प्रेम पदमा ट्रेडर्शद्वारा प्रायोजित माईडिया म्यान अफ म मुमेन्ट पुरस्कारबाट लिस्नुका हिमाल थापा पुरस्कृत भए । थापालाई प्रतियोगिताको मुख्य प्रायोजक श्रीमाया गुरुङ्गले पुरस्कार प्रदान गरिन् ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका क्लबहरुको सहभागिता १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।
प्रतियोगितामा यस पटक सोहिस्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिमबहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.