- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा मंगलबारदेखि वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागीता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ पुरस्कार रहेको छ ।
‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजन समेत पुरस्कार व्यवस्था गरिएको छ ।
गाउँपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता खेलाडीहरुलाई प्रोत्साहन गर्ने पर्सा जिल्लाबाट आएका पहलमान राज यादवले बताए । पहलवान खेलाडीहरुलाई पोषण एवं यातायात खर्च आयोजकले उपलब्ध गराउने जनाएका छन् । प्रतियोगितामा ३ दर्जन बढी पहलवानहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लोप हुन लागेको कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुद क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले युवाहरुलाई प्रोत्साहन गर्न र तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले भने, ‘लोप हुन लागेको कुस्तीको संरक्षणको लागि पाँच लाख बजेट बिनियोजन गरी गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको छ, आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगितालाई निरन्तरता दिनेछौं ।’
Get real time update about this post categories directly on your device, subscribe now.