- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृती अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबारको खेलमा काशी नोबल एकेडेमी, भैरहवा र शान्ति नमूना मावि, मणिग्रामले जित निकालेका छन् ।
काशी नोबलले नव ज्योति इङ्गलिस बोर्डिङ स्कूल, मणिग्रामलाई ५ विकेट र शान्ति नमूनाले देवदह बुद्ध माविलाई ५६ रनले पराजित गरेको हो ।भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा नवज्योतिबाट १ सय २१ रनको लक्ष्य पाएकोे काशी नोबलले १८.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो । उसको जितमा सोनम लामाले नटआउट ३१, सुप्रित घिमिरेले १८ र सक्षम कार्कीले १८ रनको योगदान दिए । बलिङमा नवज्योतिका खड्कबहादुर बस्नेतले ३ र शिव कुँवरले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नवज्योतिले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन बनाएको थियो । उसका लागि शिव कुँवरले ६५ र लक्ष्मण घिमिरेले १२ रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले ४, सुजन रानाभाटले ३ र संदीप रोकाले १ विकेट लिए । काशीका सोनम लामा म्यान अफ द म्याच भई ५ सय रुपैयाँ प्राप्त गरे ।
यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले निर्धारित खेलमा ६ विकेटको क्षतिमा १ सय १६ रनको योगफल बनायो । उसका लागि स्वस्तिक पराजुलीले २१, सन्देश भण्डारीले २०, विवश क्षेत्रले नटआउट १६ र सागर भण्डारीले १५ रन बनाए । बलिङमा देवदहका कृष केसीले ४, रोशन कुँवर र सुरज खड्काले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको देवदह १५.४ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमै समेटियो । उसका लागि आयुष ठडराईले १७ र आकाश न्यौपानेले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न शान्ति नमूनाका आशुतोष पाण्डेले ५, स्वस्तिक पराजुलीले २ तथा रुविन पराजुली र सागर भण्डारीले समान १–१ विकेट लिए । खेलमा शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द म्याच भई ५ सय रुपैयाँबाट पुरस्कृत भए ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । निजी र संस्थागत गरी १३ विद्यालय सहभागी प्रतियोगिता मंसिर २४ गतेसम्म संचालन हुनेछ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.