- श्रीन्यूज ओके रिपोर्र्टर, भैरहवा
अन्तरकलेज रुपन्देही जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सम्पन्न दुई खेलमा लीलाराम न्यौपाने उच्च माबि र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी भई अघिल्लो चरणमा प्रबेश गरेका छन् ।
पहिलो खेलमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवललाई लीलारामले ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लीलारामले निर्धारित ५ ओभरको खेलमा बिना कुनै क्षति ७९ रन बनाएको थियो । उसका लागि तुलबहादुर थापाले १७ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४९ रन बनाउँदै म्यान अफ द म्याच घोषित भए । यस्तै, बिजय कोहाँरले १३ बलमा ५ चौकाको मद्दतले २९ रन बनाए । लुम्बिनी बाणिज्यले जितका लागि पाएको ८० रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन मात्र बनाउन सक्यो । लीलारामका रमेश कुर्मीले २ विकेट लिए ।पहिलो खेल खराब मौसमका कारण ५ ओभर मात्र खेलाईएको थियो ।
त्यसैगरी अर्को खेलमा लुम्बिनी इन्जिनियरिङ कलेज ६ विकेटले बिजयी भएको छ । टस जितेर ब्याटिङ गरेको बुटवल मोडल कलेजले निर्धारित २० ओभरको खेलमा १६ ओभर ३ बलमा सबै विकेट गुमाई ९० रन बनाएको थियो । बुटवल मोडलका लागि बिशाल भण्डारीले सर्बाधिक २१ तथा अशोक मौर्यले २० रन बनाए पनि अरुले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।
लुम्बिनी इन्जिनियरिङका राजन खत्रीले ४ विकेट लिँदै म्यन अफ द म्याचबाट पुरस्कृत भए । त्यस्तै सुरजप्रसाद पाठकले २ तथा बिजय बस्नेत, प्रनिश गिरी तथा सरोज भुसालले समान एक–एक विकेट लिएका थिए । जितका लागि पाएको ९१ रनको लक्ष्यलाई लुम्बिनी इन्जिनियरिङले १३ ओभर ४ बलमा ४ विकेटको क्षतीमा पुरा गर्दै बिजयी भयो । उसका लागि बिशाल न्यौपानेले सर्बाधिक २७ रन (नटआउट) को योगदान दिए भने रोशन अर्यालले १९, मनिष पाण्डेले १२ र बिजय बस्नेतले १० रनको योगदान गरे । बुटवल मोडलका रामकुमार गुप्ताले २ तथा रुपेश बश्याल र आयान खानले समान एक–एक विकेट पाए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिता पुस १६ गतेसम्म चल्ने छ । प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितामा साई ग्लोबल एकेडेमी मुख्य प्रायोजकका रुपमा रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.