- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’ को सोमवारकोे खेलमा शंकरनगर क्रिकेट क्लबले नेपथ्य ज्ञानोदय क्रिकेट क्लब माथि १०० रनको सानदार जित निकालेको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ४८ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ३ रनको उच्च योगफल बनाएको थियो । उसका लागि सम्राट थापाले ६ चौकाको मद्दतमा नटआउट ४५, महेन्द्र सुवेदीले ३६, आशिष खत्री र प्रवेश सारुमगरले समान १७–१७ रन जोडे । बलिङमा नेपथ्यका सुनिल धमलाले ३, आशुतोष पाण्डेले २ तथा विजय बस्नेत, कृष्ण पराजुली, सुलभ ढुंगाना र अंकित विकले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेपथ्य २५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमै रोकियो । उसका लागि कृष्ण पराजुलीले ३२ र सुनिल धमलाले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपथ्यलाई सस्तैमा रोक्न ७.५ ओभर बलिङ गरेका शंकरनगरका केशव पौडेलले १ मेर्डन राख्दै २४ रन खर्चेर ४ विकेट लिए । यस्तै, सम्राट थापाले ३ र महेन्द्र सुवेदीले २ विकेट लिए । शंकरनगरका सम्राट थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।
Get real time update about this post categories directly on your device, subscribe now.