श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
वेस्टर्न क्रिकेट क्लव, बुटवलले नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि जितेको छ । शनिबार सिद्धार्थ रंगशालामा सम्पन्न फाइनलमा चिर परिचित लुम्बिनी खुकुरी क्लबलाई ४२ रनले पराष्त गर्दै वेष्टर्नले उपाधि जित्न सफल भएको हो । वेस्टर्नले यस अघि २०७७ सालमा रुपन्देही सुपरलिग उपाधि जितेको थियो । उपविजेता रहेको खुकुरी यस अघिका रुपन्देही सुपरलिगका बिभिन्न संस्करण १२ पटक जितिसकेको टिम हो । उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पार्दा उपबिजेता रहेको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो ।
टस जितेर ब्याटिङ गरेको वेष्टर्नले खराव मौसमका कारण ३६ ओभरमा सिमित गराईएको खेलमा २२.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ९४ रनको झिनो योगफल बनाएको थियो ।
उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देब खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहव आलमले ५.३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।
जितका लागि ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो । उप बिजेता लुम्बिनी खुकुरी क्लवका खेलाडीहरु आयोजक तथा अतिथीहरु सामुहिक तस्बिरमा
खुकुरीका कुनै पनि खेलाडीले दोहोरो रन जोड्न नसक्दा टिमले सामान्य लक्ष्य भेट्टाउन नसकी हार ब्यहोरेको हो । खुकुरीका इकलाख वारिस र संदीप रजालीले सर्वाधिक ८–८ रन बनाए भने प्रज्वल थापाले ७ रनमात्र हाने । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नकन बिष्णु पाण्डेले ४.१ ओभरमा १० रन खर्चिंदै सर्वाधिक ५ विकेट लिए । उनी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे । यस्तै, अनिल खरेल र अभिषेक गौतमले समान २–२ तथा देब खनालले १ विकेट लिए ।
प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज घोषित हुदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका प्रज्वल थापा वेष्ट ब्याटर र इकलाख वारिस बेष्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदयीमान खेलाडी घोषित हुदै जनही ५ हजार रुपैयाका दरले पुरस्कार प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित सुपरलिगको यो २२ औं संस्करण हो । २०५४ सालदेखि संघले नियमितरुपमा सुपरलिग आयोजना गर्दै आएको छ ।
नेपालमा जिल्लास्तरमा ५० ओभरको सुपरलिग आयोजना हुने रुपन्देही जिल्लामा मात्रै हो । प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टिमको सहभागिता थियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादु चन्द, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल टेलिकमका निर्देशक शैलेशबहादुर अमात्य, संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका थिए । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.