- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
रुपन्देहीको पुरानो मध्येको माछापुच्छ्रे« कप फुटबल प्रतियोगिता भैरहवामा आइतबारबाट सुरु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ्रे« क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो । पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा सुरु भएको प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले बिजयी सुरुवात गरेको छ । खुकुरीले न्यू स्टार एफसी देबकोटाचोकलाई २–१ गोलले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
खेलको मध्यान्तरसम्म दुबैले गोल रहित बराबरी खेलेका थिए । मध्यान्तर पछि ५८ औं मिनेटमा स्टारका शुसान्त थापाले पहिलो गोल गर्दै १–० को अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा लुम्बिनी खुकुरीका शुभाष तामाङ्गले गोल फर्काउदै खेललाई बराबरीमा फर्काए । ८१ मिनेटमा लुम्बिनी खुकुरीकै जितेश गुरुङ्गले गोल गर्दै क्लबलाई २–१ को अग्रता दिलाए । अन्तः खेल खुकुरी क्लबको पक्षमा गयो । खेलमा जितेश गुरुङ्ग म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए ।
यस अघि प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिायक अहमद खानले गर्दै नगर क्षेत्रमा खेलकुद गतिविधि अघि बढाउन कार्यालयले सक्दो बजेट विनियोजन गर्ने बताएका थिए । उद्घाटन सत्रमा विशिष्ठ अतिथि सिद्धार्थनगरका पूर्व मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा अधिकारी, पक्लिहवा कृषि क्याम्पसका प्रमुख डा.शम्भु शाह, कृषि क्याम्पसका प्राध्यापक डा. यम गुरुङ्ग, वडा नं.१ का अध्यक्ष उज्ज्वल पोख्रेल, वडा नं.२का अध्यक्ष छेदीलाल श्रीवास्तव, वडा नं.७ का अध्यक्ष दामोदर घिमिरे, वडा नं.१३ का अध्यक्ष सोम बहादुर गुरुङ्ग, पूर्व अन्तर्राष्ट्रि महिला फुटबल खेलाडी मोतीकला गुरुङ्ग, सरस्वती लामगादे, नीतु थापा, बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिम थापा लगायतको उपस्थिति थियो ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए । न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राईजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ(पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ«े एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ ।
प्रतियोगिता सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको क्लबका अध्यक्ष युबराज थापाले बताए । खेलमा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खेल अन्तरगत सोमबारको खेल गोर्खा इलाभेन नौतनवा र लुम्बिनी ज्ञानज्योति सियारी बिच खेल हुनेछ । खेल ठिक ३ बजे सुरु हुनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.