- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको विहीवार सम्पन्न खेलमा भैरव एफ सी सिद्धार्थनगर–२, नयाँ गाउँ विजयी भएको छ । पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा भैरव एफसीले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेल ट्राइब्रेकरमा पुग्नु अघि दुबै टिमले निर्धारित समयमा २–२ गोल गरी बराबरीमा टुङ्गयाएका थिए । खेल सुरु भएको २३ मिनेटमा भैरव एफसीका रोशन गुरुङ्गले गोल गर्दै अग्रता दिलाएका थिए । मध्यान्तरसम्म १ गोलले अघि रहेको भैरव एफसी ५३ मिनेटमा नवयुवा खेलकुद तथा साँस्कृतिक परिवारका संगम सुनारले गरेको गोलसँगै १–१ को बराबरीमा खेल रह्यो । २ मिनेट पछि मोहन थापाले गोल गर्दै भैरवएफसीलाई २–१ ले अग्रता दिलाए । भैरव एफसीको अग्रता धेरै बेर टिकेन । ६८ मिनेटमा नवयुवाका विनय बस्नेतले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउन सफल भए ।
निर्धारित समयमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि नवयुवा खेलकुद साँस्कृतिक परिवार ट्राइब्रेकरमा भने असफल देखियो । खेलमा भैरव एफसीका मोहन थापा उत्कृष्ट खेलाडी घोषित हुँदै १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई वडा नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेलले पुरस्कृति गरे । सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेे क्लबका अध्यक्ष युबराज थापाले बताए ।
शुक्रवार माछापुच्छ«े फुटबल क्लब झण्डीबजार र फर्साटिकर फुटबल क्लब फर्साटिकर बिच प्रतिष्पर्धा हुनेछ । दिनको ठिक ३ बजे सुरु हुने खेलमा प्रवेश शुल्क रु. ५० रहेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए । न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राइजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ (पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ्रे एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ«े क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो ।
Get real time update about this post categories directly on your device, subscribe now.