- न्यूज ओके रिपोर्टर
भैरहवा ।
सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोग र माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालन भइरहेकोे २९औं संस्करणको माछापुच्छ्रे कप फुटबलको सेमीफाइनल समिकरण पुरा भएको छ । शुक्रवार पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा सम्पन्न अन्तिम क्वाटर फाइनलमा खेलमा भैरव फुटबल क्लब नयाँगाउँ पक्लिहवाको जितसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
भैरवसंगै सेमिफाइनल पुग्ने क्लबहरुमा लुम्बिनी ज्ञानज्योति, देवदह ब्वाईज र फर्साटिकर एफसी रहेका छन् । अन्तिम क्वाटर फाइनलमा भैरवले आहाना एफसीलाई सडेनडेथमा ७ः६ गोलले पराजित गरेको हो । टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडेन डेथबाट भएको थियो । यस अधिको निर्धारीत समयमा दुबै क्लवले २ः२ गोलको बराबरी खेल खेलेका थिए ।
आजको पहिलो सेमिफाइनल खेल फर्साटिकर एफसी फर्साटिकर र लुम्बिनी ज्ञानज्योति क्लब सियारी बिच हुनेछ । पक्लिहवा कृषि क्याम्पसको मैदानमा खेल ठिक ३ बजे सुरु हुनेछ । प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए । न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राइजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ (पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ्रे एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ्रे क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो ।
सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेे क्लबका अध्यक्ष युवराज थापाले बताए ।
तस्बीरः बिशन गुरूङ
Get real time update about this post categories directly on your device, subscribe now.