- मनोरञ्जन शर्मा
भैरहवा ।
नेपाली सेनाका खगेन्द्रबहादुर भाटले विहीबार लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजना तिलौराकोटदेखि लुम्बिनीसम्मको ४२ दशमलव १९५ किमिको दुरी भाटले २ घण्टा ४० मिनेट १ सेकेण्डमा पुरा गरी उपाधि जित्दै १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । त्यसै गरी सोहि दुरीलाई नेपाल प्रहरीका निरन खड्काले २ घण्टा ४२ मिनेट ५७ सेकेन्डमा पुरा गरी दोश्रो र श्रीलंकाका अमिला सनाथले २ घण्टा ४४ मिनेट २५ सेकेन्डमा पूरा गरी तृतीय भए । उनिहरुले जनही ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विकास, शान्ति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महत्वपूर्ण दुई स्थान कपिलवस्तु र लुम्बिनीलाई जोडेर अन्तर्राष्ट्रिय स्तरको म्याराथन गराइएको हो । बिहान कपिलवस्तुको तिलौराकोटबाट दौड सुरु भई लुम्बिनी आएर सम्पन्न भएको थियो । म्याराथनमा उत्कृष्ट १०औं स्थानसम्म आउनेलाई पुरस्कारको व्यवस्था गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।
खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधिलाई आमन्त्रण गरिए पनि प्रतियोगितामा श्रीलंकन एक जना धावकले मात्रै सहभागिता जनाएका थिए । म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहीबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ति दीप रहेको गेट अगाडि आएर पूरा भएको थियो ।
धावकहरुले तिलौराकोटबाट विभिन्न बौद्धस्थल हुँदै लुम्बिनीसम्म आएका थिए । प्रतियोगितामा एक विदेशीसहित ३३ पुरुष धावक सहभागी भएको आयोजकले जनाएका छन् । बिहान तिलौराकोटमा प्रतियोगिताको उद्घाटन गरेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीमा आयोजित कार्यक्रममा विजेता धावकलाई नगदसहितका पुरस्कार प्रदान गरेका थिए ।
उता मदन भण्डारी स्पोर्टस फाउन्डेशनले विहीबारनै आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका दिपक अधिकारी र महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाईले जितेकी छिन् । ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अधिकारीले २१ किलोमिटरको दूरी १ घण्टा ६ मिनेट २ सेकेन्डमा पार गर्दै पुरुषतर्फ प्रथम बन्दा महिलातर्फ नेपाल प्रहरीकी पछाईंले सोही दुरी १ घण्टा २४ मिनेट २ सेकेन्डमा पार गर्दै प्रथम बनेकी हुन् ।
नेकपा एमालेको भातृ संगठन मदन भण्डारी स्पोर्ट्स् एकेडेमीले बिहीबार अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । पुरुषतर्फ प्रथम भएका अधिकारीले १ लाख ५० हजार र महिलातर्फ प्रथम भएकी पछाईंले १ लाख ५१ हजार रुपैयाँसहित सिल्ड तथा प्रमाणपत्र प्राप्त गरे ।
आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरीका गोपीचन्द्र पारखीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए भने त्रिभुवन आर्मीका मुकेश पालले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हुन सफल भए । यस्तै, पुरुषतर्फ नै त्रिभुवन आर्मीकै नरेन्द्र रावलले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै चौथो भए ।
यस्तै, महिलातर्फ सशस्त्र प्रहरीकी विन्द्रा धान्के श्रेष्ठले १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् भने नेपाल प्रहरीका रेखा विष्टले १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तेस्रो र र त्रिभुवन आर्मीकी पूर्णलक्ष्मीले १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान बन्न सफल भइन् ।
महिला र पुरुष दुवैतर्फ दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएका छन् । यस्तै, दुवै विधातर्फ पाँचौंले २० हजार, छैटौंले १० हजार, सातौंले ७ हजार तथा आठौं, नवौं र दशौंले ५–५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौं, महिनदेव जोशी छैटौं भए भने सशस्त्रका राजेन्द्र तामाङ सातौं, त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दशौं भए । यस्तै, महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा पाँचौं, सशस्त्रकी आशा रावल छैटौं, त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं तथा खुलाबाट सुर्खेतकी बिन्दु हमाल आठौं भइन् । नवौं र दशौं स्थानमा त्रिभुवन आर्मीका निर्मला पुन र शारदा शाही भए ।
प्रतियोगिताका विजेतालाई नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नगद र प्रमाणपत्र वितरण गरेका छन् । मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथनका सहभागीहरुले पर्साचोकबाट पुनः महिलबार हुँदै लुम्बिनीको २ फन्का लगाएर २१ किलोमिटरको दूरी पार गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.