- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा, (११ भाद्र) ।
पक्लिहवा कृषि क्याम्पस भैरहवामा भएको सजना स्मृति कप भलिबल प्रतियोगिताको उपाधि देबदह बहुमुखी क्याम्पस, देवदब रुपन्देहीले जितेको छ । नेपाल विद्यार्थी संघ पक्लिहवा क्याम्पस इकाई समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा देवदहले सेन्ट जोसेफ कलेज तिलोत्तमा नगरपालिकालाई पराजित गर्दै भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
कृषि क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनलमा देवदहले बेस्ट तिन सेटको खेलमा २–१ सेट आफ्नो पक्षमा पार्दै सजना स्मृतिकप भलिबलको पहिलो संस्करण बिजेता बनेको हो । सेन्टजोसेफले उपबिजेता भएसंगै १४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । त्यसै गरी तृतीय स्थानका लागि भएको खेलमा बुटवल बहुमुखी क्याम्पसले सिटी कलेज लाई २–१ सेटले हराएको थियो । बुटवलले ७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यस अघि सम्पन्न सेफिफाइनलमा देवदहले बुटवल बहुमुखीलाई २–० ले तथा सेन्ट जोसेफले सिटीलाई २–० सेटमा पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेका थिए । प्रतियोगिताका बिजेता, उपबिजेता खेलाडीहरुलाई पदक, ट्रफी तथा नगद पुरस्कार प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईश्तियाक अहमद खान, कृषि क्याम्पसका प्रमुख डा. रामभजन मण्डल, सिद्धार्थनगर वडा नम्बर १३ का वडाध्यक्ष सोम बहादुर गुरुङ्ग, आयोजक नेबिसंघ पक्लिहवा कृषि क्याम्पस इकाई समितिका अध्यक्ष प्रतिक थापा मगर लगायतले प्रदान गरेका थिए ।
प्रतियोगितामा मणिमुकुन्द कलेज ए र बि टिम, भैरहवा बहुमुखी क्याम्पस, लिलाराम क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, देबदह बहुमुखी क्याम्पस, शहिद नारायण क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुद्ध पब्लिक कलेज, पक्लिहवा कृषि क्याम्पस, पश्चिम मावि, सेन्ट जोसेफ कलेज, लमजुङ्ग क्याम्पस, सिटी कलेज, तथा आयोजकका २ टिम गरी १६ टिमले भागलिएको प्रतियोगिता संयोजक सुमन अधिकारीले बताए ।
पक्लिहवा कृषि क्याम्पसमा बिएस्सी एजि तर्फ अध्ययनरत छात्रा सजना श्रेष्ठको २०७६ कार्तिक २२ गते काठमाडांैको ह्याम्स अस्पतालमा उपचारका क्रममा २३ वर्षको उमेरमा निधन भएको थियो । पक्लिहवा कृषि क्याम्पस नेबिसंघ इकाईकी सदस्य रहेकी श्रेष्ठ पढाईसंगै खेलमा पनि लगाव रहेको थियो । उनको स्मृतिमा नेबिसंघले अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता ७ भदौबाट सुरु भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.