श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
भैरहवामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी जिल्ला स्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा बुधबार भएको खेलमा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल ‘बी’ बिजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले लुम्बिनी बाणिज्य क्याम्पसलाई ९ विकेटले तथा .साई ग्लोबलले सहीद नारायण पोखरेल क्याम्पसलाई १८ रनले पराजित गरेका हुन् ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी बाणिज्यले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा अलआउट हुँदै ७६ रनको सामान्य योगफल बनाएको थियो । साहीउल्लाह खान मुसलमानले सर्वाधिक २४ रन बनाउदा हिरामणि भण्डारीले १५ र सन्देश पौडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन् । बलिङमा जेसिसका इकलाख अहम्मद र अजयकुमार चौहानले समान ३–३ तथा शैलेन्द्र यादवले २ विकेट हात पारे ।
जितका लागी पाएको ७७ रनको सामान्य चुनौती जेसिसले १४ ओभर १ बलमा १ विकेटको नोक्सानीमा पुरा गर्दै बिजयी भयो । जितमा सागर कुँवरले ३२ र शैलेन्द्र यादवले २९ रन बनाए । उनीहरु दुबै नटआउट रहे । बलिङमा लुम्बिनी बाणिज्यका क्षितिज गैरेले १ विकेट लिए । खेलमा जेसिसका इकलाख अहम्मद म्यान अफ द म्याच घोषित भए ।
यस्तै सोहि मैदानमा सम्पन्न अर्को खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल ‘बी’ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल बनाएको थियो । अविजित ज्ञवालीले ३२, मिर्नाल गुरुङले ३० र मोहम्मद हुसेनले १३ रनको योगदान दिएका थिए । बलिङमा सहीद नारायणका शेषदत्त थारुले ३, प्रकाश आचार्यले २ तथा सुभाष थारु र प्रदीप सुवेदीले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सहीद नारायण १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रनमै समेटि हार व्यहोरयो । उसका लागि प्रदीप सुवेदीले ३०, अभिषेक भण्डारी र सुभाष थारुले समान २३–२३ तथा वीरेन्द्र यादवले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा साई ग्लोबलका धिरन्दर राजभरले ३ तथा मोहम्मद हुसेन, मिर्नाल गुरुङ, जयप्रताप यादव र अमन यादवले समान १–१ विकेट लिए । खेलमा साई ग्लोबल ‘बी’ धिरन्दर राजभर म्यान अफ द म्याच भए ।
प्रतियोगिता अन्तरगत बिहीबार पहिलो खेल काशि नोबल एकेडमी तथा श्री रुपन्देही लिलाराम न्यौपाने उमाबि बिच तथा दोश्रो खेल होराईजन जिबिएस र देबदह आदर्श क्याम्पस बिच हुनेछ ।
विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.