श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
क्रिकेट संघ रुपन्देहीको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी रुपन्देही जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा आइतबार सम्पन्न दुई खेलमा शान्ति नमूना उच्च मावि र रुपन्देही क्याम्पस विजयी भई प्रि क्वाटरफाईनलमा प्रबेश गरेका छन् । शान्ति नमूनाले क्यानन इङ्गलिस बोर्डिङ हाई स्कूललाई ८ विकेट र रुपन्देही क्याम्पसले भैरहवा हाई स्कूललाई ९ विकेटले पराजित गर्दै प्रि क्वाटरफाईनलमा स्थान सुरक्षित गरेका हुन् ।
पहिलो खेलमा टस हारेर ब्याटिङमा आएको क्याननले निर्धारित २० ओभरको खेलमा ९ ओभर ३ बलमा सवै विकेट गुमाउदै जम्मा २९ रन बनाएको थियो । क्याननका कुनै पनि खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन् । रोहित पासवानले सर्वाधिक ९ रन बनाए । शान्ति नमूनाका प्रविन ढकालले ४, संदीप यादवले ३ तथा लक्ष्मण कुमालले २ विकेट लिदै क्याननलाई २९ रनमै सिमित गरेका थिए । प्रतिउत्तरमा शान्ति नमूना ७ ओभर २ बलमा २ विकेटको नोक्सानीमा ३० रन बनाउँदै बिजयी भयो । शान्तिको जितमा संदीप यादवले १७ र स्वस्तिक पराजुलीले ९ रन बनाएका थिए । दुबै नटआउट रहे । बलिङमा क्याननका रोहित पासवानले २ विकेट लिए । शान्ति नमूनाका प्रविन ढकाल म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए ।
सोहि मैदानमा सम्पन्न दोश्रो खेलमा टस जितेर ब्याटिङ रोजेको भैरहवा हाई स्कूल १९ ओभर १ बलमा अलआउट हुँदै ८८ रनको योगफल तयार गरेको थियो । मोइन खानले २१, एजाज खानले १५, इरफान अलीले १२ र अब्दुल कसिमले अविजित ११ रन बनाएका थिए । रुपन्देही क्याम्पसका सरजुद्दिन नाउ र आनन्द गौडले ३–३ तथा राहुल साहनीले २ तथा जितेन्द्र केवट र सन्तोष यादवले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा रुपन्देही क्याम्पसले ८ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ९० रन बनाउँदै सहजरुपमा बिजयी भयो । उसका लागि जितेन्द्र केवटले आकर्षक ६३ रन(नटआउट) बनाए भने सन्तोष यादवले नटआउट १३ रन जोड्न सफल भए । बलिङमा भैरहवा हाई स्कूलका प्रियांन्सु मल्लिकले १ विकेट लिए । रुपन्देही क्याम्पसका आनन्द गौड म्यान अफ द म्याच घोषित हुदै पुरस्कृत भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् । प्रतियोगितामा सोमबार देखि प्रि क्वाटरफाईनल खेलहरु सुरु हुदैछन् ।
Get real time update about this post categories directly on your device, subscribe now.