श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को मंगलबार सम्पन्न खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब, लुम्बिनी विजयी भएको छ ।लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ५७ रनको विशाल योगफल तयार गरेको थियो । शाक्यानका लागि राहत हुसेनले अर्धशतकीय पारी खेल्दै ५९ रन बनाउदा संदीपसिंह लोधले ४७, अजमत एजाज अलीले २९, अब्दुल रबले २१, विष्णु ठठेरले १९ र बैतुल्लाह खाँनले १२ रन जोड्न सफल भएका थिए ।
लुम्बिनीले अतिरिक्त मात्रै ५६ रन पाएको थियो । बलिङमा साई ग्लोबलका अभिषेक कोहाँरले ९ ओभर ४ बलमा ६९ रन खर्चेर ५ वकिेट लिए । यस्तै, मोइन नाउले २ तथा राहुल थापामगर र अलदीप कुँवरले समान १–१ विकेट पाए ।
प्रतिउत्तरमा जितका लागि पाएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा साई ग्लोबल ३५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदै अलआउट भयो । उसका लागि प्रयाशराज गैरेले ४९, अलदीप कुँवरले ३५, अविजित ज्ञवालीले ३१ र अनुरागविक्रम शाहीले १४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई तल्लो क्रममा रोक्न बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले १० ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिँदा बैतुल्लाह खाँनले ३ तथा आकाश गैरे र एजाज अलीले १–१ विकेट लिए । खेलमा लुम्बिनी शाक्यनका राहत हुसेन म्यान अफ द म्याच भए ।
ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.