श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारको खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । सैनामैनाले बुटवल–११ लाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।
्
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको सामान्य योगफल बनायो । उसका लागि प्रमिश अर्यालले २८, मनिष न्यौपाने र विभेष खातीले १८–१८ तथा विवेक शर्माले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको योगफल बनाउन सकेनन् । बलिङमा सैनामैनाका गोपाल पौडेलले ४, सुनिल पौडेल र दिलसाद अलीले २–२ तथा गणेश गौतम र प्रदीप सुवेदीले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सैनामैना ३२ ओभर २ बलमा ६ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विक्रम गौतमले अविजित ४८, सुनिल पौडेलले नटआउट २५, दिलसाद अलीले २२ तथा सुजन क्षेत्रीले १० रनको योगदान दिए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ४, एजाज अहम्मद र मञ्जिल भण्डारीले समान १–१ विकेट लिए । खेलमा सैनामैनाका गोपाल पौडेल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्राथम पराजुलीले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.