श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर एक माथि ६ विकेटको जित निकाल्दै वडा नम्बर तीनले उपाधि सहित ५१ हजार रुपैयाँ नगद मेयरकप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँ नगदसहित, कप, मेडल र प्रमाणपत्र पाएको छ ।
भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ ले टस जितेर ब्याटिङ गर्ने निम्तो पाएपछि वडा नम्बर १ले निर्धारित १२ ओभरको खेलमा ११.२ ओभरमा अल आउट हुदै ११२ रन मात्र बनाएको थियो । वडा नम्बर १ का लागि २१ बलमा ४ छक्का र दुई चौकाको मद्दतले ४२ रन, मनिष थापाले २२ रन, कन्हैया यादवले नट आउट १७ रन, मोहम्मद नसिम खानले ११ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रहयो । बलिङमा वडा नम्बर ३ का समिर मुसलमानले तीन, अर्जुज चौहान र अरमान मुसलमानले समान २–२, रमेश कुर्मी र मैनिउद्दिन शेषले समान १–१ विकेट लिएका थिए ।
वडा नम्बर १ बाट जितका लागि पाएको ११३ रनको लक्ष्य पछ्याउँदै वडा नम्बर ३ ले निर्धारीत ओभरमै ४ विकेटको क्षतिमा ११३ रन बनाउँदै लक्ष्य पुरा गरी मेयरकप विजेता बन्न सफल भयो । उसको जितका लागि विजय सुनारले ४१, आनन्द गौडले ३४ रन र मैनिउद्दिन शेषले १९ रनको योगदान दिए । बलिङमा वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले समान १–१ विकेट लिए ।
खेलमा वडा नम्बर ३ का समिर मुसलमान म्यान अफ द फाइनल घोषित हुदै एक हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा वडा नम्बर ६ का प्रवेश आलम म्यान अफ द सिरिज भई ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाए । वडा नम्बरका ३ का आनन्द गुरुङ उत्कृष्ट ब्याटर हुँदा वडा नम्बर ११ का जुबेर आलम उत्कृष्ट बलर बने । दुवैजनाले जनही दुई हजार दुई सय पचास रुपैयाँका दरले नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस अघि आइतबार नै सम्पन्न सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले तथा वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । विजेता र उपविजेताका साथै अन्य खेलाडीहरूलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, वडा अध्यक्षहरूले पुरस्कार प्रदान गरेका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खानले नगरवासीहरूमा लुकेका प्रतिभा प्रष्फुटन गर्न र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगिता उत्तम प्लेटफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए । उनले आगामी दिनमा खेलाडीहरूको चाहनालाई मध्यनजर गर्दै डे–नाइट क्रिकेट प्रतियोगिता आयोजनाका लागि छलफल गरिने बताए । उपप्रमुख उमा अधिकारीले प्रतियोगिताको माध्यमले मैदानमा आउने नयाँ खेलाडी क्रिकेट एसोसिएसन अफ रूपन्देही (कार) र क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) मा आँखामा पर्न सक्ने बताइन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले यस्तै किसिमको प्रतियोगिताको माध्यमले नयाँ खेलाडी मैदान देखिने र क्रमशः विश्वस्तरमा खेल्न भएकोले आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित गर्दै लगिने र प्रतियोगितामा हार जितभन्दा सबै खेलाडी बधाईको पात्र रहेको बताए । कार्यक्रममा प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तव, वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ९ का शेषकान्त भण्डारी, क्यानका पुर्व केन्द्रिय सचिव प्रशान्त विक्रम मल्ल लगायतले मन्तव्य राख्दै स्थानीयस्तरमा हुने क्रिकेट प्रतियोगिताको भिन्दै महत्व रहेको बताएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.