श्रीन्यूज ओके रिपोर्टर।काठमाण्डौ
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनी लायन्स सुदूरपश्चिम संग ४५ रनले पराजित भएको छ । लुम्बिनी लायन्सको यो लगातार तेश्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनायो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन (अविजित) बनाए ।
यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंक बनाउन समेत सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सैफ जैबको सानदार ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८ ओ ओभरको चौथो बलमा आउट भए ।
उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकीय साझेदारी गरे । जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे ।
म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।
कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे ।
बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १/१ विकेट लिए ।
Get real time update about this post categories directly on your device, subscribe now.