भैरहवा सेजमा सबस्टेशन निर्माण अन्तिम चरणमा 

श्रीन्यूजओके रिपोर्टर


भैरहवा – विशेष आर्थिक क्षेत्र भैरहवा सेजमा व्यवस्थित बिद्युत्का लागि सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल सरकारको पाइलट प्रोजेक्टका रुपमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्रमा बिद्युत्को गतिलो प्रबन्ध नभएको भन्दै त्यहाँ उद्योग लगाएका र लगाउन चाहनेहरूले बारम्बार गुनासो गर्दै आए पनि सबस्टेशन निर्माणको काम हुन सकेको थिएन । 

पछिल्लो समय विशेष आर्थिक क्षेत्र बिकाश समितिले सबस्टेसन निर्माण गर्नका लागि  बोलकबोल प्रकृया गर्दा काठमाडौको नरेन्द्र निर्माण सेवालाई निर्माणको ठेक्का परेको  थियो ।

नरेन्द्र निर्माणले कुल ३१ करोड ३३ लाख ४७ हजार १ सय ३२ रुपैयाँमा (मूल्य अभिवृद्धि कर सहित निर्माणको जिम्मा पाएको थियो ।

सब स्टेसन भैरहवा बिशेष आर्थिक क्षेत्र परिसरमै निर्माण भैरहेको छ । अहिले सम्म कन्ट्रोल बिल्डिंग,स्यु चार्ड निर्माण सम्पन्न भैसकेको छ । त्यसै गरी एम जडान, सिटीपिटी, डीआई जडान लगायतका काम सम्पन्न भैसकेको कार्यालयका सब इन्जिनियर दीपक चन्द्र भाटले बताए ।

 भाटका अनुसार निर्माण कम्पनीले बुधबार राती मात्रै भारतबाट दुई थान ट्रान्सफर्मर पनि आयात गरेको छ । आयात गरिएका ट्रान्सफर्मर अहिले निर्माण स्थलमा आइसकेको र जडान कार्य सुरु हुने तरखरमा रहेको छ । २ थान ट्रान्सफर्मरको मुल्य मात्रै १५ करोड रुपैयाँ रहेको छ ।

सबस्टेसनमा जडान गर्न ल्याइएको ट्रान्सर्फमर । तस्बिर मनोरञ्जन शर्मा/ श्रीन्यूज ओके

निर्माण कम्पनीका इलेक्ट्रिक इन्जिनियर शिवहरी अधिकारीले सबै सामानहरू आइपुगेको र अब क्रमश जडान हुनेछ । अधिकारीका अनुसार जडान भएको ट्रान्सफर्मर चार्ज हुन मात्रै कम्तिमा १ महिना सम्म लाग्छ । सबै उपकरण जडान र ट्रान्सफर्मर चार्ज समेतलाई हेर्दा माघ मसान्त भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

भैरहवा सेजको सबस्टेशन ३३/११ केभिएको हुनेछ । सेज सम्म रोहिणी गाउँपालिकाको धकधई सबस्टेशन बाट राष्ट्रिय प्रसारणको बिद्युतनै भैरहवा सेजमा आउनेछ । विद्युत प्रवाहका लागि प्रसारण लाइन निर्माण पहिलानै भैसकेको नेपाल विद्युत प्राधिकरण भैरहवा बितरण शाखाका प्रमुख सञ्जय कुमार मिश्राले बताए ।

अहिले भैरहवा सेजमा सञ्चालनमा रहेका ९ उद्योग तथा सेज कार्यालयले सिटी फिडर अन्तर्गतको बिद्युत प्रयोग गर्दै आएका छन्। सिटी फिडरको विद्युत समय समयमा काटिने, ट्रिपिंग हुने, बजारमा विद्युत कटौती हुँदा सेजमा पनि विद्युत कटौती हुने जस्ता समस्या थिए । सेज भित्रै सब स्टेसन निर्माण र सञ्चालन पछि विद्युतको सबै समस्या हल हुने देखिएको छ । विद्युत राम्रो नभएको गुनासो व्यवसायीले गर्दै आएका थिए । 
#भैरहवासेज #नेबिप्रा #सेज

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Exit mobile version