- मनोरञ्जन शर्मा
भैरहवा ।
आज भन्दा २४ वर्ष अघि गुल्मीबाट तराईको कैलालीमा झरेका चिन्तामणी न्यौपानेले चाउमिन, समोसा बिक्री गर्ने सामान्य ग्रामीण स्तरको खाजा पसल सुरु गरेका थिए । टिकापुरमा सुरु गरेको खाजापसलले नाम अनि दाम कमाउँदै गयो । त्यसपछि न्यौपाने बन्धुहरुले पछि फर्केर हेर्नु परेन । सामान्य खाजा पसलबाट सुरु भएको न्यौपाने बन्धुहरुको अहिले २५ वर्ष पुग्दा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको नामबाट देशका बिभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, क्याफे लगायतका सेवामूलक प्रतिष्ठानले राम्रै जरा गाडेको छ ।
२४ वर्षमा २४ प्रतिष्ठान बनाईसकेको यो समूहले व्यवसाय सुरु गरेको २५ वर्ष पुग्न लाग्दा भैरहवामा पाँचतारे होटल सिद्धार्थ इन्टरनेशनल सञ्चालनको तयारीमा रहेको छ ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी ग्रुपका अध्यक्ष न्यौपाने स्वदेशमै केही गर्नु पर्छ भन्दै नेपाल भ्रमण वर्ष १९९८ को कार्यक्रम सुरु भएको वर्ष २०५४ माघ २३ मा गुल्मीबाट टिकापुर झरेर चाउमीन बिक्री गर्ने सामान्य खाजा पसल सुरु गरेका थिए । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आफ्नो व्यवसायिक यात्रालाई यहाँसम्म ल्याइ पुर्याउँदा व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटेल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट लगायत हस्पिटालिटी तथा ट्रेडिङ, कृषि उत्पादन, आइटी सेवा लगायतका बिभिन्न व्यवसायिक विधाहरूमा संजाल बनाएर संगठित तथा संस्थागत रुपमा अघि बढिरहेको अध्यक्ष न्यौपानेले बताए । ‘‘हाम्रो पछिल्लो प्रतिष्ठानका रुपमा निर्माण सम्पन्नका क्रममा रहेको सिद्धार्थ इन्टरनेशनल होटल हो र वैशाखमा सुरुवात गर्दैछौं, होटलको रुम, इभेन्टहरु एवं बिभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रमका लागि बुकिङ्ग सोमबारबाट सुरु गर्दैछांै ।’’ गु्रपका अध्यक्ष न्यौपानेले भने ।
सिद्धार्थको व्यवसायिक यात्रा हालसम्म आइ पुग्दा गु्रपको आफ्नै लगानी तथा व्यवस्थापनमा कर्णालीको चिसापानी, बाँकेको नेपालगञ्ज, रुपन्देहीको बुटवल, चितवनको चुम्लिङटार, काठमाडांैको सुन्धारा, तिनकुने, पुरानो वानेश्वर, वौद्ध, ललितपुरको धोबिघाटमा होटल तथा रेस्टुरेन्ट सेवा संचालनमा छन् । त्यसै गरी एस क्याफे ब्राण्ड नाम रहेका क्याफे सेवाहरूमा बाँकेको नेपालगन्ज र कोहलपुर, काठमाडौंको तिनकुने, आर्मी अफिसर क्लब जङ्गी अड्डा परिसर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर भित्र मनमोहन कार्डियो तथा सुरेश वाग्ले भवनमा क्याफे सेवाहरू संचालनमा छन् भने कन्चनपुरको महेन्द्रनगर, दाङको लमही, कपिलवस्तुको चन्द्रौटा, नुवाकोटको बट्टार, मोरङको विराटनगर, झापाको विर्तामोडमा व्यवस्थापन साझेदारीका रुपमा होटल तथा रेस्टुरेन्ट सेवाहरू संचालन गरेका छौं । ‘‘गु्रपको सबैभन्दा ठूलो प्रतिष्ठानका रुपमा नेपालगन्जमा चारतारे होटलका रुपमा सन् २००८ बाटै सञ्चालनमा छ भने सबैभन्दा ठूलो परियोजनाका रुपमा भैरहवामा निर्माण सम्पन्न क्रममा रहेको पाँचतारे होटल हो ।’’ अध्यक्ष न्यौपानेले भने । ‘‘भैरहवामा होटल निर्माण सुरु गर्दा कोरोना संक्रमण सुरु भएको थिएन्, त्यसपछि कोरोना सुरु भयो, तर पनि हामी आतिएनौ, निर्माण जारी ग¥यौ र अहिले सम्पन्नका क्रममा छौं ।’’ उनले भने ।
भैरहवा अञ्चलपुर चोकबाट २ सय मिटर पश्चिम तर्फ मायादेबी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ इन्टरनेशनल होटल ४ बिघाहा क्षेत्रफलमा फैलिएको छ । डिलक्स, एक्ज्यूकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा बर्गिकरण गरिएका जम्मा ८५ कोठा रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले बताए । होटलमा लबि लाउन्ज, अल डे डाईनिंग, उत्तर तर्फ धवलागिरी हिम श्रृखंला देखिने रुफ टफ रेष्टुरेन्ट तथा स्विमिङ्ग पुल, फिटनेस, स्पा, साउन, ज्याकुजी, सहितको हेल्थ क्लब सेवा, गार्डेन, १२ हजार स्कवायर फुटको नेपालको सबैभन्दा ठूलो सभा हल, ३ वटा कन्फ्रेन्स हल र एक मिटिंग हल होटलमा रहेको र क्यासिनो समेत सञ्चालन हुने गरी तयारी भइरहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
साढे २ अर्ब लगानी बढीको होटल सञ्चालनमा आउँदा ३ सयले प्रतक्ष्य रोजगारी पाउने छन् उनले भने । ‘‘पर्यटन बिभागमा पाँच तारे होटलमा सूचिकृत गर्न निबेदन दिइसकेका छांै, माघ २३ गते हाम्रो व्यवसाय सुरु भएको २५ वर्ष पुग्छ र यही हामी आउँदो वैशाख १ गतेबाट सिद्धार्थ इन्टरनेशनल पाँच तारे होटलका रुपमा सञ्चालन गर्ने घोषणा समेत गर्नेछौं ।’’ न्यौपानेले भने । व्यवसाय सुरु गरेको २५ वर्षको अवसरमा सोमबार गु्रपले व्यवसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ सिद्धार्थ एशोसिएसन फर केयर एण्ड रेस्पोन्सिबिलिटी (साकार)ले सामाजिक कार्यहरू आफ्ना देशैभरका प्रतिष्ठान मार्फत गर्ने सञ्चालक योगराज कण्डेलले बताए ।
आइतवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा व्यवसायको इतिहासदेखि वर्तमानसम्म जानकारी साथै २५ वर्षको कार्यक्रमको बारेमा अवगत गराइएको थियो । सो क्रममा निकट भविष्यमा जुम्लाको ताम्रा, चितवनको सौराहा तथा इलामको कन्याम चियाबगानमा रिसोर्ट तथा पाल्पामा वायोटिका मार्फत कृषि उत्पादन गर्ने लक्ष्य गु्रपको रहेको छ भने कैलालीको धनगढी, कास्कीको पोखरामा होटल तथा रिसोर्ट संचालन गर्ने आगामी योजना रहेको बताइएको छ । सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्तरगत अहिले प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा १ हजार ६ सय जनाले रोजगार पाएका छन् ।