भैरहवा सेजमा आउने असार भित्रै उत्पादन सुरु गर्ने गरी थप चार उद्योग सञ्चालन तयारी

श्रीन्यूज ओके रिपोर्टर । भैरहवा


भैरहवा विशेष आर्थिक क्षेत्र (भैरहवा सेज) मा एक भारतिय सहित थप चार उद्योगहरु सञ्चालनको तयारीमा रहेका छन् । सञ्चालनको तयारीमा रहेका उद्योगहरुमा भारतिय स्पट इलेक्ट्रिक सहित, इको नेपाल इनर्जि, आरसी इण्डष्ट्रिज, तथा हिमालयन ग्रेनाइट प्रालि रहेका छन् ।

भैरहवा सेजका कार्यालय प्रमुख एवं इन्जिनियर सबुत डुम्रेका अनुसार ती चार उद्योगहरुमा अहिले पूर्वाधार निर्माणका साथै मेशिनरी जडान कार्य अन्तिम चरणमा पुगेको छ। आउँदो असार भित्रै उत्पादन सुरु गर्ने गरी काम भइरहेको छ।स्पट इलेक्ट्रिक भारत गुजरातको कम्पनि हो । यो कम्पनिले विद्युतीय साइकलको पार्टसहरु ल्याएर यहाँ एसेम्बल गरी विद्युतीय साइकल तयार गर्ने जनाइएको छ ।

त्यस्तै फर्निस आयल उत्पादन गर्ने योजनासहित स्थापना भएको इको नेपाल इनर्जि बुटवलका युबाहरुको हो । इको नेपालका निर्देशक उज्जवल कसजुले आउने असार भित्रै उत्पादन सुरु हुने बताएका छन् । अर्को उद्योग आरसी भैरहवाका व्यवसायीको हो । यो उद्योगले पुरानो व्याट्रीको लिड प्रशोधित गरी नयाँ लिड उत्पादन गर्छ। हिमालयन ग्रेनाईटलले भने कच्चा ढुंगा ल्याएर मार्वल एवं टायल बनाउने बताएको छ।

अन्य १२ कम्पनीहरुले पनि उद्योग सञ्चालन गर्ने भनी सेजसँग सम्झौता गरेकोमा लुम्बिनी मेशीनरी इण्डस्ट्रिज प्रालि र अलाइन्स मेटावयर प्रालिले उद्योगका नक्सा एवं प्रशासनिक काम गरिरहेको छ। लुम्बिनी मेशीनरी इलेक्ट्रिक ओभन तथा अलाइन्स स्टिलका भाडा बनाउने उद्योग हो। सम्झौता गरेका बाँकी १० उद्योगमध्ये ६ वटा सम्पर्कमा रहेको र अन्य ४ सम्पर्कमा नरहेको सेज प्रमुखले डुम्मेले बताए । सम्झौता गरेका कम्पनीले हर्बल प्लान्ट, गार्मेन्ट, गहना, जुत्ता, छालाका सामानलगायतका उद्योग स्थापना गर्ने गरी सम्झौता गरेका छन् । सम्झौता गर्न आउँदा आफूले लिने प्लटको भाडा एक वर्षको बैंक ग्यारेन्टीका रूपमा राख्नु पर्ने प्रावधान छ। एक वर्षभित्र सम्पर्कमा नआए बैंक ग्यारेन्टीका रूपमा रहेको रकम सेजले फिर्ता गर्न नपर्ने व्यवस्था रहेको छ। उद्योग सञ्चालनमा आए बैंक ग्यारेन्टीका रूपमा रहेको रकमबाट एक वर्षको भाडा कटाउने प्रावधान छ।

यसअघि भैरहवा सेजमा स्थापना भएका ७ उद्योगमध्ये ६ वटा अहिले चालु अवस्थामा छन् । ती उद्योगहरु शक्ती मिनरल्स, विस्तार ग्लोवल, ब्रिलियन्ट लाइट, तिरुपति मेटल, एस पोलिमर्श, पञ्चकन्या इण्डष्ट्रिज र जयबुद्ध मेटल क्राफ्ट छन् ।

सञ्चालनमा रहेका ६ वटा र सञ्चालनमा आउन लागेका ४ उद्योगहरुले सेजको ६८ प्लटमध्ये २७ प्लट ओगटेका छन् । सबैभन्दा धेरै शक्री मिनरल्सले ८ प्लट लिएको छ। यो उद्योगले चुनढुंगा प्रशोधन गर्दछ । त्यस्तै ३ प्लट लिएको बिस्तारले स्टीलका भाडाकुडा उत्पादन गर्दै आएको छ भने २ प्लट लिएको तिरुपतिमेटल इण्डष्ट्रिजले पुराना ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड बनाउँछ । त्यस्तै १ प्लट लिएको एस पोलिमर्शले प्लास्टिकका झोला, बोतल प्रशोधन गरी प्लास्टिकको दाना उत्पादन गर्छ भने २ प्लट क्षेत्रफल ओगटेको पञ्चकन्या स्टिल प्रालिले स्टिलको खानेपानी टंकी उत्पादन गर्छ। धातुका मुर्ति एवं उपहारका सामान बनाउँदै आएको जयबुद्ध भने अहिले बन्द छ। उद्योग सञ्चालनकै क्रममा उद्योग हेर्ने जिम्मा लिएका एक सञ्चालकको निधनपछि उद्योग बन्द रहेको सेज प्रमुख डुमेले श्रीन्यूज ओकेलाई बताए। हामीले सञ्चालकहरुलाई उद्योग सञ्चालनका लागि पत्र पठाएर ताकेता गरिहेका छौं, उनीहरुले भाडा पनि बुझाउनु भएको छैन, तोकिएको समय भित्र सम्पर्कमा आएनन् भने उद्योगका सबै सामानहरु सरकारको हुन्छ। सेजलाई दिनुपर्ने दायित्व त्यसैबाट असुल उपर गरिनेछ,डुम्रेले भने।

सेज सुरु हुँदा भाडा प्रति वर्ग मिटर १५० रुपैयाँ रहेकोमा अहिले २० रुपैयाँमा झरेको छ। यसलाई पनि घटाएर प्रति वर्ग मिटर १० रुपैयाँ बनाउने प्रस्ताव सेजले मन्त्रालयमा पठाएको छ। त्यसैगरी सेजमा उत्पादित सामानमध्ये ७५ प्रतिशत भारत निकासी एवं २५ प्रतिशत स्वदेशमा खपत गर्नुपर्ने २०७३ सालमा आएको सेज ऐनमा थियो। सेजमा उद्योगीहरुको उत्साह नदेखिएपछि २०७५ सालमा ऐन संशोधन गरी ६० प्रतिशत निकासी र ४० देशभित्र खपत गर्ने बनाइयो । अझै पनि उद्योगहरु आउन सकेका छैनन् ।

गत वर्षको बजेटमा सेजलाई पूर्ण रुपमा सञ्चालनका लागि व्यवस्था मिलाउने भनिएपछि ऐन संसोधन गरी ३० प्रतिशत निकासी र ७० प्रतिशत स्वदेशमा खपत गर्ने गरी प्रस्ताव मन्त्रालय पठाइएको छ। भाडा पनि १० रुपैयाँ प्रति वर्ग मिटरको गरिएको छ।

भैरहवा सेजका प्रमुख डुमेले आर्थिक वर्ष २०८१र०८२ भित्र सेजमा तोकिएअनुसार उद्योग स्थापना हुने अपेक्षा रहेको बताएका छन् । ुअब वस्तुको सीमा र भाडा घटाउन प्रस्ताव भइसकेको छ। यो पास भएपछि उद्योगीहरु आकर्षित हुने अपेक्षा गरिएको छ। सेजमा जहिले पनि उद्योगीले विद्युत राम्रो भएन भन्ने गुनासो गरिररहेका छन् । अब त्यो पनि हट्छ । सेजभित्रै सबस्टेशन निर्माण अन्तिम चरणमा छ । त्यसलाई आवश्यक पर्ने डेडीकेटेड विद्युत लाइन सेज गेटमै आइसकेको छ,ु प्रमुख डुम्रेले भने। सेजमा अहिले सर्वसाधारणले प्रयोग गर्ने सिटी फिडरको विद्युत उपलब्ध छ। सेज भित्रका उद्योगमा आवश्यक कच्चापदार्थ ल्याउँदा भन्सारमा सत प्रतिशत छुट छ भने उद्योग सुरु भएको पहिलो पाँच वर्ष आयकरमा सत प्रतिशत र त्यसपछि ५० प्रतिशत छुटको व्यवस्था ऐनमा छ। निकासी बढी गरेर व्यापार घाटा कम गराउने लक्ष्यसहित विशेष आर्थिक क्षेत्र स्थापना भएको हो।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version