बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जारी चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भद्र घले स्कुलले सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा रहेको भद्र घलेले प्रभावशाली प्रदर्शन गर्दै समूह विजेताको रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
मंगलबार भएको खेलमा भद्र घलेले गोदावरी रेसिडेन्सियल स्कुललाई ४४–१४ को फराकिलो अन्तरले पराजित गर्यो। खेलमा दीपेन्द्र तोलाङ्गेले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत रूपमा २० अंक जोडे। उनको यो प्रदर्शनले भद्र घलेलाई सहज जित दिलायो, र उनी यस खेलका सर्वश्रेष्ठ खेलाडी (MVP) घोषित भए।
यसअघि, भद्र घलेले समूह चरणका अन्य खेलहरूमा पनि उच्च प्रदर्शन गरेको थियो। केएमसी स्कुलविरुद्ध २९–४८ को जितमा दिबस मगरले २१ अंक जोडे। यस्तै, केहर एङ्ग्लिश स्कूलविरुद्ध २३–५० को जितमा दिबसले नै १९ अंकको योगदान दिए। लगातार दुई खेलमा उनको प्रदर्शन उत्कृष्ट रहेकोले उनी दुबै खेलमा सर्वश्रेष्ठ खेलाडी (MVP) घोषित भए।
समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको भद्र घले स्कुल अब थप चुनौतीपूर्ण खेलहरूको लागि तयार देखिन्छ। प्रशिक्षक हरि कार्कीले टोलीको प्रतिबद्धता र खेलाडीहरूको निरन्तर उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन्।
भद्र घले स्कुलका खेलाडीहरूको उत्साह र आत्मविश्वासले आगामी खेलहरूमा थप उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ।
श्री न्यूज ओके
ताजा खबरका लागि हेर्दै रहनुहोस्!