- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्बोच्च अदालतले खारेज गर्ने आदेश दिएको छ । उनि विरुद्ध परेको नागरिकता विवादकोे मुद्दामा शुक्रवार अदालतले उनको सांसद पद खारेज हुने आदेश दिएको हो ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुन लिने प्रक्रिया पुरा नगरेको भन्दै संवैधानिक इजलासले यस्तो आदेश सुनाएको हो। लामिछाने गत मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा निर्बाचनमा चितवन जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहा रहेको संवैधानिक इजलासले सांसद पद खारेज गर्ने निर्णय गरेको हो।
अघिल्लो महिना नयाँ सरकार गठन भएपछि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा सपथग्रहण गरेका थिए। उनि राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष समेत हुन् । लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने बताए।
लामिछानेले अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएको नदेखिएको र पहिलाकै नागरिकता देखाएर निर्वाचन आयोगमा दल दर्ता गरेको भन्ने आरोप सहित वकिलहरु रविराज बसौला र युवराज पौडेलद्वारा सर्बोच्चमा रिट दर्ता गरेका थिए ।