भैरहवा दिल्ली हङकङको कनेक्टिङ्ग फ्लाइट सुरु, यात्रु शुन्य

नेपाल एअरलाइन्सले मंगलबारदेखि सुरु गरेको भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङको कनेक्टिङ्ग फ्लाइटमा एक जना पनि यात्रु उक्त गन्तव्य तर्फ प्रस्थान गरेनन् । निगमले आइतबार नै सो सेक्टरमा भैरहवाबाट कनेक्टिङ्ग फ्लाइट गर्ने सूचना जारी गर्दै स्वचालित अनलाइन प्रणालीमा टिकट खरिद बिक्रीका लागि सोमबार नै राखे पनि अनलाइनमा प्राविधिक समस्या आएपछि पोर्टल नै नखुल्दा टिकट खरिद–बिक्री हुन सकेन ।

निगमका अधिकारी प्रकाश अधिकारीले अनलाइनमा प्राविधिक समस्या आएको स्विकार गरे । ट्राभल एजेन्टहरुले पनि अनलाइन प्रणाली नखुल्दा टिकट जारी गर्न सक्नु भएन र अर्को महत्वपूर्ण कुरा के हो भने समय एकदम कम थियो । ‘‘तिन दिन अघि निर्णय गरी सोमबार मात्रै टिकट अनलाइनमा हालिएको थियो, प्रचार पनि हुन सकेन, अब अर्को हप्ता यो कनेक्टिङ्ग फ्लाइटमा यात्रु हुने छन् ।’’ अधिकारीले दाबी गरे ।

यो कनेक्टिङ्ग फ्लाइटको लागि निगमले मलेशियाबाट भैरहवा हुँदै काठमाडौं जाने बिमानलाइनै कनेक्टिङ्ग फ्लाइटकारुपमा चलाउने निर्णय गरेको थियो । मलेशियाको क्वालालम्पुरदेखि भैरहवा उडान प्रत्येक मंगलबार हुने गरी जेठ ३० गतेबाट सुरु भएकोमा अहिलेसम्म नियमितरुपमा १२ उडान भएको निगमका भैरहवा स्थित कार्यालयका कर्मचारी दिवश खड्काले बताए ।

निगमको क्वालालम्पुर भैरहवा उडान मार्फत आएका यात्रुहरु मंगलबार बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा तस्बिरः थिरेन्द्र श्रेष्ठ

सोटो नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले निगमले छोटो समयमै निर्णय गरेर उडान सुरुवात गर्नु सकारात्मक रहे पनि पूर्व तयारी नहँुदा टिकट बिक्रीमा समस्या आएर एक जना पनि यात्रु कनेक्टिङ्ग फ्लाइटमा नहुनु दुखद रहेको बताए । ‘‘अनलाइन टिकट बिक्री गर्न नसकिए पनि म्यानुअल टिकट बिक्रीका लागि पनि कुनै सूचना जारी भएन ।’’ गुप्ताले भने ।

निगमले कनेकटिङ्ग उडानको लागि सोमबारबाट मात्र बुकिङ खुल्ला गरेको थियो । हङकङको उडानको बुकिङको लागि सिष्टमले देखाए पनि दिल्लीको लागि अनलाइन बुकिङ गर्न भाडा दर देखाएको थिएन । यो सेक्टरमा अर्को हप्ताको लागि भने हवाई भाडादर इकोनोमी क्लासमा एकतर्फी भैरहवा हङकङको ५३ हजार ५५१ रुपैयाँ र भैरहवा दिल्लीको भाडा दर १३ हजार २२७ रुपैयाँ लाग्ने छ । काठमाडौंबाट भन्दा २ हजार रुपैयाँ मात्र बढीरहेको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version