- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
‘कृषि मेला–२०७९’ मंगलबारबाट बुटवलमा सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सुरु हुने कृषि मेला फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । कृषि मेलाको यो ११ औं संस्करण हो ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गर्न लागिएको मेलामा कृषिमा आधुनिक प्रविधिको प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमूलक स्टल एवं विशेष आकर्षणका रुपमा बंगुरका १५ भन्दा बढी परीकार सहितको पोर्क फेस्टिवल रहेको र ५० स्टल रहने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले बताए । ‘‘कृषि मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल समेत हुनेछ ।’ कसजूले भने ।
गैरनाफामूलक यो मेलामा ५० वटा स्टल रहने छने भने २५ हजार जना अवलोकन कर्ताले अवलोकन गर्ने लक्ष्य आयोजकको रहेको छ । कृषि वस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकार सहितको फेस्टिवल आयोजना गरिएको आयोजकले बताएका छन् ।
त्यसै गरी च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने छ । खाने प्रवृत्तिको विकासले स्थानीय कृषि वस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार र स्थानीय कृषि उपज उत्पादन प्रयोगबाट आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने आयोजकको भनाई छ । मेलामा १३ वटा स्टल पोर्क फेस्टिवलको लागि छुट्याइएको छ । जसमा ९ प्रकारका चाइनिज सहित बंगुरको मासुबाट बनेका २१ परिकार पस्किने बंगुर व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सुर्यवंशीले बताए ।
मेलामा कृषिका अत्याधुनिक प्रविधि तर्फ धान रोप्ने मेशिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिने छ । त्यसै गरी ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रदर्शन गरिने कृषि मेला समन्वय समितिका संयोजक बसन्तप्रसाद ढकालले बताए ।
नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कुल ग्राहस्थ उत्पादनमा यसको ३६ प्रतिशत मात्रै योगदान रहेकाले कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्रयाउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेलालाई निरन्तरता दिँदै आएको संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले जानकारी दिए । मेलामा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले कृषि सेवा, फलफूलका बिरुवा तथा जानकारी, मत्स्य तथा पशुपालन सम्बन्धी जानकारी एवं परामर्श प्रदान गर्ने छन् ।
कृषिमा व्यवसायीकरण, प्रविधिको पहुँचमा बृद्धि तथा कृषक स्तरमा सूचना तथा जानकारी पु¥याउनुको साथै नीतिगत सुधारको लागि पहल स्वरुप बिभिन्न बिषयगत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा बिक्री वितरण र कृषिमा आधारित सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुनेछ ।
कृषि मेलाको सबै तयारी पुरा भएको र स्थानीय बालमन्दिर परिसरमा सञ्चालन हुने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् । उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टिकृत मेलाको अवधारणा अनुसार कृषि मेलाको सुरुवात गरेको हो । यस बिचमा संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला आयोजना गरिसकेको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।
