श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा भैरहवा नाकाबाट चार अर्ब २८ करोड बढीको निर्यात व्यापार भएको छ । यो गत वर्षको चार महिनाको तुलनामा केही बढी हो । गत वर्षको साउनदेखि कात्तिकसम्ममा चार अर्ब १७ करोड ४३ लाख मूल्यका सामानहरू निकासी भएकोमा यस वर्षको चार महिनामा ४ अर्ब २८ करोड रुपैयाँबराबरका सामान निर्यात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख एवं भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
चालु वर्षको चार महिनामा भारततर्फ सिमेन्ट निकासीमा भारतीय गुणस्तरको प्रमाण नवीकरण नहुँदा केही सिमेन्ट उद्योगले निर्यात गर्न पाएका छैनन् । अन्य वस्तु तथा सामान भने निर्यात भइरहेको छ । गत वर्षको तुलनामा भारत एवं तेस्रो मुलुकमा निर्यात वृद्धि भएको तथ्यांकले देखाएको छ । निर्यात व्यापार बढेको कारण भैरहवा नाकामार्फत हुने आयात निर्यातबाट व्यापार घाटा केही कम भएको छ । चालु वर्षको चार महिनामा चार अर्ब २८ करोड ८४ लाख रुपैयाँका सामान एवं वस्तुहरु निर्यात हुँदा ६० लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
भैरहवा नाका हुँदै निर्यात बढी हुने मुख्य सामान एवं वस्तुमा सेन्थेटिक यार्न, सिमेन्ट, क्लिन्कर, प्लाइउड, विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी रहेका छन् । त्यसैगरी तयारी चाउचाउ, पास्ता तथा चोकर भुस, रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप, खोटो रोजिन, बियर, अल्कीड रोजिन र अन्य पिभिसी रोजिन, स्टिलका भाँडाकुँडालगायतका वस्तु भारत तथा तेस्रो मुलुकमा निर्यात हुने गर्छन् । भैरहवा भन्सार कार्यालयका सूचना एवं कम्प्युटर शाखाका अधिकृत एनबी सापकोटाका अनुसार चालु वर्षको चार महिनामा यो नाका हुँदै सबैभन्दा बढी सेन्थेटिक यार्न निकासी भएको छ ।
यस अवधिमा एक अर्ब १० करोड २० लाख रुपैयाँबराबरको ५३ लाख किलो सेन्थेटिकयार्न निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा ९५ करोड ४३ लाख रुपैयाँबराबरको ४६ लाख किलो सेन्थेटिक यार्न निर्यात भएको थियो । यो नाका हुँदै यार्न भारत मात्र नभएर तेस्रो मुलुकसम्म जाने गरेको छ । चार महिनामा ३५ करोड ८४ लाख रुपैयाँका सिमेन्ट निर्यात भएको छ । सिमेन्ट निर्यात गत वर्षको चार महिनाको तुलनामा घटेको छ भने क्लिंकर निर्यात भएको छैन ।
केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नु पर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै दुई वर्षदेखि सिमेन्ट एवं क्लिंकर निकासी हुन थालेको हो । सरकारले बजेटमार्फत विभिन्न वस्तु तोकिएको परिमाणभन्दा बढी निकासी गरेमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ । सोहीअनुसार उद्योगहरुले भारततर्फ निकासी बढाइरहेको छन् । तर सरकारले समयमै नगद अनुदान नदिँदा व्यवसायीले लाभ लिन सकेका छैनन् ।
सरकारले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानीसहित ८ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाणमा निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ । बेलहिया नाका हुँदै सेन्थेटिक यार्न, सिमेन्ट बाहेक प्लाइउड वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायत जडीबुटीको निकासी बढ्दै गएको छ ।
भन्सार कार्यालयका अनुसार गत साउनदेखि कार्तिक मसान्तसम्म ३२ करोड ९ लाख ७० हजार रुपैयाँको खयरकत्था, भटमासको प्रशोधित तेल २९ करोड ५६ लाखको, सुठो अदुवा २६ करोड ४७ लाख, पिना २६ करोड ३४ लाख रुपैयाँ निकासी भएको छ । त्यस्तै सुर्यमुखी प्रशोधित तेल १९ करोड १६ लाख, चाउचाउ नुडल्स र पास्ता १८ करोड २३ लाख, स्टिल एवं फलामका भाडा १७ करोड ९५ लाख, प्लाइउड १५ करोड सात लाख रुपैयाँबराबरको निकासी भएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.