श्री न्यूजओके रिपोर्टर
भैरहवा – कोरोना सङ्क्रमण सुरु भएको वर्ष पछि भौतिक पुर्बाधार निर्माणका सामग्री उत्पादन गर्ने अन्य उद्योग जस्तै रूपन्देहीका इट्टा उद्योग पनि सङ्कटमा पर्दै गएका छन् । विकास निर्माण तथा निजी घर बनाउने काम एकदम न्यून हुँदै गएपछि बजारमा ईट्टाको माग घट्दै जादा रूपन्देहीका ५२ ईट्टा उद्योगहरू सङ्कटमा परेका छन् ।
निर्माणको काम न्यून हुँदा ५ वर्ष देखि माग निरन्तर घट्दै जानु एकठाँउमा छ, अर्को तर्फ बैङ्कको ब्याज बढ्दै जानु, कच्चा पदार्थका रुपमा रहेको माटोको अभाव, स्थानीयले लगाउने अनावश्यक कर, कोइला र कामदारको अभाव यस उद्योगमा थप समस्याका रुपमा रहेको लुम्बिनी ईट्टा व्यवसायी संघका अध्यक्ष अजय गुप्ता बताउँछन् ।
६० वटा ईट्टा उद्योग थिए, घट्दै गएर ५२ मा झरे, अहिले २६ वटा ईट्टा उद्योग जेनतेन ५० प्रतिशत क्षमतामा चलिरहेका छन्, अध्यक्ष गुप्ताले भने । समस्या घट्नुको साटो बढ्दै जादा हामीहरू निकै अप्ठेरोमा परेका छौ, बाकी उद्योगहरूको भविष्य अन्यौल छ, त्यसमाथि बेमौसमी बर्सातले गर्दा थप नोक्सानी भैरहको छ, अध्यक्ष गुप्ताले भने । रूपन्देहीका प्रतेक इँट्टा उद्योगमा ५ देखि ६ करोड रुपैयाँको लगानी रहेको सङ्घका महासचिव दीपक पौडेल बताउँछन् ।
बेमौसमी बर्षातले करोडौँको नोक्सान
चैत्र अन्तिम र बैशाखको पहिलो साताको बेमौसमी बर्सातले काचो ईट्टा गलेर नष्ट हुँदा करोडौँको क्षति ब्यहोर्ने पुगेको ईट्टा व्यवसायीको भनाई छ । बर्सातले पोल्नका लागी सुकाउन राखिएको काचो ईट्टा गलेर नष्ट भएका छन्, एउटा उद्योगले कम्तिमा ५ देखि २० लाख सम्मको क्षति व्यहोरेका छन्, अध्यक्ष गुप्ताले भने, हामीलाई पीडा माथि पीडा छ, ईट्टा गलेर नष्ट भयो, न राहत पाइन्छ, न कर छुट हुन्छ, न बिमा हुन्छ, सबै उद्योगका गरी अढाई करोड काचो ईट्टा गलेर नष्ट भएको छ, सबै उद्योगमा ७ करोड भन्दा बढीको क्षेती भएको छ ,गुप्ताले भने ।
मायादेवी –७ मर्चहवामा रहेको पाठक ईट्टा उद्योगका २ प्लान्टमा गरी करीब १९ लाख काचो ईट्टा वर्षाले गलेर नष्ट भएका छन्, उद्योगमा नोक्सान त भयौ नै, अब त्यति सङ्ख्याको ईट्टा कम आउने भयो, ईट्टा उद्योगी एवं सञ्चालक डोल राज पाण्डेले बताए । खुल्ला आकासमुनि उद्योग सञ्चालन गर्नु बाध्यता हो, काचो ईट्टा सुकाउनै पर्यौ, मैले ८० लाख भन्दा बढी क्षेती ब्यहोरेको छु, पाण्डेले भने ।
ईट्टा उद्योगीका अनुसार एउटा काचो ईट्टा तयार गर्न कम्तिमा ४ देखि ६ रुपैयाँ खर्च आउँछ । सियारी –७ अमवामा रहेको न्यु कामना ईट्टा उद्योगका सञ्चालक टङ्कनाथ अधिकारीले बेमौसमी बर्सातको कम्तिमा ५ लाख काचा ईट्टा गलेर नष्ट हुँदा ८ लाख बढीको क्षेती भएको बताए। हामीलाई पीडा माथि पीडा छ, अधिकारीले भने । सङ्घका महासचिव समेत रहेका मनकामना ईट्टा उद्योगका सञ्चालक दीपक पौडेलले सुकाउन राखेको ११ लाख ईट्टा गलेर नष्ट हुँदा ५० लाख रुपैयाँ भन्दा बढीको क्षेती भएको बताए । उद्योग आधा क्षमतामा सञ्चालनमा छ, त्यसैमाथि प्रकृतीले पनि साथ नदिएको अवस्था छ पौडेलले भने । हामी ईट्टा उद्योगीको पिर मर्का राज्यले नजरअन्दाज गर्छ, हामीलाई कही कतै सहुलियत छैन, उनले भने ।
(न्यूज ओके साप्ताहिकको २०८२ बैशाख११ गते बिहीबारको अंकमा प्रकाशित समाचार)
Get real time update about this post categories directly on your device, subscribe now.