श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा जारी नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव –२०८१ को आज तेश्रो दिन हो । तेश्रो दिन शनिवार पनि परेकोले अत्यधिक अवलोकनकर्ता महोत्सवमा आउने आयोजकको अपेक्षा छ । महोत्सवको सुरुवाती दुई दिनमा आयोजकले अपेक्षा गरेअनुसारकै अवलोकनकर्ता आएको जनाएको छ ।
आज शनिवार चर्चित दोहोरी गायक गायिका विष्णु सिञ्जाली मगर र कोपिला न्यौपानेको प्रस्तुती रहने आयोजक समिति सदस्य एवं सास्कृतिक कार्यक्रमका संयोजक दिपेन्द्र प्रधानले बताए । त्यसै गरी बसन्त श्रेष्ठ एण्ड फ्रेन्ड्स ब्याण्डको प्रस्तुती रहने छ । स्थानीय कलाकार हरि नारायण थारू को विशेष कार्यक्रम साथै नृत्य प्रतियोगिता भैरहवा डान्स आइडल कार्यक्रम र बेलुकी ६ बजे पछि डिजे कार्यक्रम हुनेछ । डिजे कार्यक्रममा डिजे पिज्जा एण्ड फ्रेण्डसले प्रस्तुती दिने संयोजक प्रधानले जनाए ।
निःशुल्क मेहन्दी तालिम सुरु
लुम्बिनी महोत्सवमा शुक्रवारबाट महिलाहरुलाई सीपयुक्त बनाई स्वरोजगार बनाउने उद्देश्यसहित मेहन्दी तालिम सुरु भएको छ । संघका अनुसार निःशुल्क उक्त तालिम १० दिनसम्म संचालन हुनेछ । संघकी कार्यसमिति सदस्य तथा महोत्सव महिला उद्यमी तथा हस्तकला समिति संयोजक पल्लवी न्यौपानेले तालिमले ज्ञानसीप सिक्न खोज्ने महिला दिदीबहिनीलाई असर सिर्जना गर्ने बताइन् । मेहन्दी तालिम निकै महंगो हुने भएकाले संघले विगतका वर्षहरुदेखि नै यस्ता तालिमहरुलाई निःशुल्क रुपमा सञ्चालन गर्दै आएको जनाइन् ।
उनले यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर तथा व्यवसायिक एवं स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।’ उनले यो अवसरको सदुपयोग गर्न आग्रह गरिन् ।
तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले धार्मिक र साँस्कृतिक महत्व बोकेको मेहन्दी जो कोहीले लगाउन नसक्ने भएकाले मेहन्दी लगाउन सिके महिलाहरूलाई स्वरोजगार हुन सहज हुने बताए । ‘हामीले अवसर सिर्जना गरेका छौं, यहाँ आएर सीप सिकेर धेरैजना महिलाहरु भविश्यमा स्वरोजगार बन्नुहुनेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।
संघका महासचिव कृष्णप्रसाद घिमिरेले केही सिक्छु र गर्छु भन्नेहरुका लागि महोत्सव अवसर भएको बताए । यसको फाइदा उठाउन उनले सबैमा आग्रह गरे । मंसिर ३० गतेसम्म सञ्चालन हुने तालिममा ६५ जना प्रशिक्षार्थीहरू सहभागी छन् । आयोजकका अनुसार तालिमको अन्तिम दिन प्रशिक्षार्थीहरुबीच प्रतिष्पर्धा गराई प्रथम, द्वितीय र तृतीय हुनेलाई नगदसहित पुरस्कृत गरिनेछ । मंसिर २० गतेदेखि सुरु भएको महोत्सव पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.